Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि निष्कासन हुँदै

२०८३ आश्विन २६ गते

बैंकिङ खबर/  दोलखामा सञ्चालित हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा दुई समूहका लगानीकर्तालाई लक्षित गरी आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत बराबर ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता छुट्याइएको छ ।

स्थानीयलाई दुई समूहमा सेयर बाँडफाँट

आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ । यी वडालाई आयोजनाको अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।

बाँकी ६ लाख ७६ हजार कित्ता भने बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडामा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दालाई वितरण गरिनेछ ।

स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म तोकिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १६ सम्म आवेदन दिन सक्ने

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ४ लाख २२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत हो । सम्बन्धित सरकारी निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् ।

यस समूहका आवेदकले छिटोमा कात्तिक १६ गतेसम्म आवेदन दिनुपर्नेछ । पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि कात्तिक २५ गतेसम्म लम्बिन सक्नेछ । आवेदन सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर दिन सकिनेछ ।

सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाले कम्पनीले तोकेका बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला जलविद्युत् आयोजना र ५.५ मेगावाटको साँगु खोला–१ आयोजना सञ्चालन गरिरहेको छ । यी दुई आयोजनाको कुल विद्युत् उत्पादन क्षमता २५.५ मेगावाट छ ।

आईपीओमा आवेदन दिनुअघि लगानीकर्ताले आफ्नो समूहअनुसारको योग्यता, सम्बन्धित क्षेत्रको स्थायी बसोबाससम्बन्धी मापदण्ड र आवेदनको अन्तिम मिति यकिन गर्नुपर्नेछ ।