
बैंकिङ खबर / हदबन्दीभन्दा बढीको जग्गा सर्तविपरीत धितो स्वीकार गरी लिलाम गरेको आरोपमा प्रभु बैंकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
अख्तियारको पोखरा कार्यालयले बैंकको केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै १५ दिनभित्र राय, प्रतिक्रिया र प्रमाणित कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।
उजुरीमा हदबन्दीभन्दा बढी जग्गा धितो राख्न पाउने कानुनी सीमाभन्दा बाहिर गएर धितो स्वीकार गरिएको र पछि सोही जग्गा लिलाम गरिएको विषय उठाइएको छ।
यो प्रकरण लमजुङको दुराडाँडास्थित जल्केनी फाँटमा सञ्चालित एकीकृत कृषि परियोजनासँग जोडिएको छ।
इजरायलबाट कृषि प्रविधिको ज्ञान लिएर फर्किएका युवासहित १ सय ४३ जनाको सामूहिक लगानीमा करिब २ सय २० रोपनी जग्गामा कृषि परियोजना सुरु गरिएको थियो । करिब १८ करोड रुपैयाँ लगानी गरिएको उक्त परियोजनामा कुखुरा, गाई, बाख्रा, माछा तथा अन्य कृषि गतिविधि सञ्चालन गर्ने योजना थियो।
अब अख्तियारको छानबिनले बैंकले जग्गा धितो स्वीकार गर्दा कानुनी प्रक्रिया पूरा गरेको थियो कि थिएन, र लिलामी प्रक्रिया नियमअनुसार भयो कि भएन भन्ने विषय स्पष्ट पार्नेछ।