Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

नेप्से सीईओका लागि ४ उम्मेदवार सर्टलिस्ट, असोज २३ गते प्रस्तुतीकरण

२०८३ आश्विन २० गते

बैंकिङ खबर /  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जना उम्मेदवार सर्टलिस्ट भएका छन्। सीईओ छनोट तथा सिफारिस समितिले आवेदन दिएका उम्मेदवारमध्ये चार जनालाई अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट गरेको हो । सर्टलिस्टमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी परेका छन् ।

अर्थ मन्त्रालयले नेप्सेको सीईओ नियुक्तिका लागि संयुक्त सचिव महेश आचार्यको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको थियो। सोही समितिले सीईओ पदका लागि आवेदन आह्वान गर्दै साउन १२ गते सूचना प्रकाशित गरेको थियो। आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएकोमा कुल ८ जनाले आवेदन दिएका थिए । समितिले प्राप्त आवेदन तथा उम्मेदवारको योग्यता र आवश्यक मापदण्डका आधारमा चार जनालाई छनोट गरेको हो। अब सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरणपछि सीईओ नियुक्तिको प्रक्रिया थप अघि बढ्नेछ ।

असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण

छनोट भएका चारै जना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण असोज २३ गते अर्थ मन्त्रालयमा हुने तय भएको छ। निर्धारित कार्यतालिकाअनुसार अनिलराज पौडेलको बिहान ७ बजे, नवराज सापकोटाको बिहान ८ बजे, नारायणप्रसाद सापकोटाको साँझ ५ः३० बजे र प्रताप सुवेदीको साँझ ६ः३० बजे अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुनेछ। समितिले उम्मेदवारहरूलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेट अगावै उपस्थित हुन आग्रह गरेको छ।

अन्तर्वार्ता तथा प्रस्तुतीकरणका क्रममा उम्मेदवारको व्यावसायिक क्षमता, नेप्सेको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दृष्टिकोण, पुँजी बजारको विकासका लागि प्रस्तावित योजना तथा नेतृत्व क्षमतासहितका विषय मूल्यांकन हुनेछन्।

तीन जनाको नाम सिफारिस गरिने

अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएपछि छनोट समितिले चारमध्ये तीन जना उम्मेदवारको नाम सिफारिस गर्नेछ। समितिबाट सिफारिस भएका तीन नाममध्येबाट नियुक्तिको प्रक्रिया अघि बढाइनेछ। नेप्से सीईओ नियुक्तिको विषयमा अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ। यससँगै अब चार उम्मेदवारमध्ये को तीन जनाको सिफारिसमा पर्छन् र तीमध्येबाट कसले नेप्सेको नेतृत्व सम्हाल्छ भन्ने विषयमा चासो बढेको छ।

नेप्सेको सीईओ पद लामो समयदेखि पुँजी बजारका सरोकारवालाको चासोको विषय बन्दै आएको छ। नेपालको दोस्रो बजार सञ्चालन गर्ने प्रमुख संस्था भएकाले नेप्सेको नेतृत्वले कारोबार प्रणालीको प्रभावकारिता, बजार पूर्वाधारको विकास, प्रविधिको प्रयोग तथा समग्र पुँजी बजारको आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चापागाईंले कार्यकाल पूरा नगरी छाडेका थिए पद

यसअघि नेप्सेको सीईओ रहेका चुडामणि चापागाईंले आफ्नो कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएका थिए। उनले असार २२ गते राजीनामा दिएका थिए । चापागाईंलाई २०८१ चैत १९ गते तत्कालीन सरकारले नेप्सेको सीईओमा नियुक्त गरेको थियो। तर, कार्यकाल पूरा हुनुअघि नै उनले पद छाडेपछि रिक्त रहेको सीईओ पदमा नयाँ नियुक्तिका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । अब छनोट समितिको अन्तर्वार्ता तथा प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिस हुनेछ। त्यसपछि नियुक्तिको बाँकी प्रक्रिया पूरा भएसँगै नेप्सेले नयाँ नेतृत्व पाउनेछ ।