
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थालाई थप सहज बनाउँदै विभिन्न क्षेत्रले प्राप्त गर्ने विदेशी मुद्रा सटही तथा भुक्तानी सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै सूचना प्रविधि, ऊर्जा, पर्यटन, हवाई सेवा तथा अन्तरदेशीय सेवा व्यापारलाई लक्षित गरी नयाँ सुविधा थप गरेको हो ।
संशोधित व्यवस्थाले व्यवसायी तथा कम्पनीले विदेशी मुद्रा भुक्तानीका लागि राष्ट्र बैंकबाट पटक–पटक स्वीकृति लिनुपर्ने अवस्थालाई केही हदसम्म सहज बनाएको छ। विशेषगरी विदेशी सेवा, उपकरण तथा प्राविधिक सेवाको भुक्तानी गर्ने व्यवसायलाई यसबाट सुविधा पुग्ने देखिन्छ ।
नयाँ व्यवस्थाअनुसार नेपाली वायुसेवा कम्पनीले विमानका इन्जिन तथा पार्टपुर्जा विदेशमा मर्मत गराउन पठाउँदा बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने अग्रिम भुक्तानीको सीमा बढाइएको छ। यसअघि १ लाख अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब ५ लाख अमेरिकी डलर पुर्याइएको छ । यसले विमान मर्मत तथा पार्टपुर्जा व्यवस्थापनमा हुने विदेशी भुक्तानीलाई थप सहज बनाउनेछ ।
विदेशी ऋण भित्र्याउने प्रयोजनमा वाणिज्य बैंकले जारी गर्ने विदेशी मुद्राको बैंक ग्यारेन्टी तथा स्ट्यान्डबाई लेटर अफ क्रेडिट (एसबीएलसी) सुविधाको दायरा पनि विस्तार गरिएको छ। यसअघि कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार तथा पर्यटन क्षेत्रमा केन्द्रित रहेको यस्तो सुविधामा अब सूचना प्रविधि (आईटी) तथा ऊर्जा क्षेत्र पनि समेटिएका छन् ।
यस व्यवस्थाबाट विदेशी ऋणमार्फत लगानी जुटाउन खोजिरहेका आईटी कम्पनी तथा ऊर्जा क्षेत्रका परियोजनालाई बैंकिङ माध्यमबाट वित्तीय कारोबार गर्न थप सहज हुने अपेक्षा गरिएको छ भारतबाट विभिन्न सेवा खरिद गरेबापत वाणिज्य बैंकमार्फत गर्न सकिने भुक्तानीको सीमा पनि बढाइएको छ। सम्बन्धित नियामक निकायको सिफारिसमा प्रतिपटक गर्न सकिने भुक्तानी सीमा भारु ४० लाखबाट बढाएर ६० लाख पुर्याइएको छ। उक्त सीमाभन्दा बढी रकम भुक्तानी गर्न भने राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्नेछ।
त्यस्तै, वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्रालाई आयात प्रयोजनमा प्रयोग गर्न पाउने सटही सीमामा पनि वृद्धि गरिएको छ। तेस्रो मुलुकका लागि यस्तो सीमा १२ हजार अमेरिकी डलरबाट बढाएर ३० हजार डलर पुर्याइएको छ। भारतका लागि भने भारु ३० लाखबाट बढाएर ६० लाख कायम गरिएको छ ।
पर्यटन व्यवसायमा हुने विदेशी मुद्रा कारोबारलाई समेत राष्ट्र बैंकले थप सहज बनाएको छ। इजाजतपत्रप्राप्त ट्राभल तथा टुर एजेन्सीले विदेशस्थित एजेन्टलाई भुक्तानी गर्दा विदेशबाट प्राप्त रकमसँगै नेपालमै विदेशी पर्यटकबाट विदेशी मुद्रामा प्राप्त आम्दानीसमेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस्तै, एउटा ट्राभल एजेन्सीले अर्को एजेन्सीबाट सेवा खरिद गरी पर्यटकलाई सेवा उपलब्ध गराएको अवस्थामा बैंकिङ प्रणालीमार्फत विदेशी मुद्रामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। यसले पर्यटन क्षेत्रमा हुने अन्तर–एजेन्सी कारोबारलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकको पछिल्लो संशोधनले विदेशी मुद्रा आवश्यक पर्ने व्यवसायिक कारोबारमा विद्यमान सीमालाई विस्तार गर्दै बैंकिङ प्रणालीमार्फत हुने भुक्तानीलाई थप सहज बनाउने प्रयास गरेको छ। विशेषगरी आईटी, ऊर्जा, पर्यटन, हवाई सेवा तथा अन्तरदेशीय सेवा व्यापारमा संलग्न व्यवसायलाई यसबाट प्रत्यक्ष सुविधा पुग्ने देखिन्छ ।