Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

टोयोटा गाडी किन्न एनआईसी एशियाको ५.९९ प्रतिशत ब्याजदरको कर्जा

२०८३ आश्विन १६ गते

बैंकिङ खबर । टोयोटा ब्राण्डका सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई एनआईसी एशिया बैंकले ७ वर्षसम्मका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ ।

यसका लागि बैंक र टोयोटा गाडीको नेपालस्थित विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच समझदारी भएको हो । समझदारीपछि टोयोटाका विभिन्न मोडलका गाडी खरिद गर्ने बैंकका ग्राहकले तोकिएको सुविधाअनुसार सवारी कर्जा लिन सक्नेछन् ।

बैंकका अनुसार स्थिर ब्याजदरको विकल्प नलिई परिवर्तनीय दरमा कर्जा लिन चाहने ग्राहकले भने बैंकको औसत आधारदरमा थप १ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ ।

कर्जा लिँदा लाग्ने प्रशासनिक सेवा शुल्कमा पनि बैंकले छुटको व्यवस्था गरेको छ । ग्राहकले प्रशासनिक सेवा शुल्कमा २५ बेसिस प्वाइन्ट बराबरको छुट पाउनेछन् । बैंकले कर्जा प्रक्रिया छिटो र सहज बनाउने व्यवस्था गरिएको जनाएको छ ।

समझदारीपत्रमा एनआईसी एशिया बैंकका रिटेल बिजनेसतर्फका चिफ बिजनेस अफिसर अमित के.सी. र युनाइटेड ट्रेडर्स सिन्डिकेटकी उपमहाप्रबन्धक रेखा शाह कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार उपलब्ध हुने यो सुविधा टोयोटाका विभिन्न सवारी साधन खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । बैंकले सवारी कर्जामार्फत ग्राहकलाई नयाँ गाडी खरिद गर्न वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरेको जनाएको छ ।