बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको बाह्य क्षेत्रमा सुधार देखिएको छ। रेमिट्यान्स बढेको छ। निर्यात बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बलियो बनेको छ। तर, बैंकिङ प्रणालीमा भने फरक तस्वीर देखिएको छ। साउन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.३ प्रतिशतले घटेको छ। यो अवधिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा भन्ने वृद्धि भएको छ। साउन महिनामा निजी क्षेत्रतर्फ ०.४ प्रतिशतले कर्जा बढेको नेपाल राष्ट्र बैंकको रिपोर्टले देखाएको छ। रिपोर्ट अनुसार साउनमा बैंकको निक्षेप घट्दा पनि कर्जा विस्तार भएको देखिएको छ। वार्षिक आधारमा हेर्दा भने बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.५ प्रतिशतले बढेको छ। निजी क्षेत्रतर्फको कर्जा पनि ७ प्रतिशतले बढेको छ।यसले बैंकिङ प्रणालीमा कर्जा विस्तारको गति कायम रहेको देखाउँछ। यता, साउनमा रेमिट्यान्स आप्रवाह भने उल्लेख्य रूपमा बढेको छ। एक महिनामै नेपाल भित्रिएको रेमिट्यान्स २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको साउनको तुलनामा २१.२ प्रतिशतले बढी हो। रेमिट्यान्स बढेसँगै बाह्य क्षेत्र पनि थप बलियो बनेको छ।
साउन मसान्तसम्म नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।यो सञ्चितिले करिब १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ। बाह्य व्यापारमा पनि सुधार देखिएको छ। साउनमा वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। आयात अझ ठूलो दरमा बढेको छ। कुल वस्तु आयात ३१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। त्यसकारण व्यापार घाटा पनि बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। साउनमा निक्षेप ०.३ प्रतिशत घट्दा कर्जा ०.४ प्रतिशत बढेको छ। रेमिट्यान्सको प्रवाह बलियो भइरहेका बेला बैंकको निक्षेप किन घट्यो भन्ने विषय पनि महत्वपूर्ण बनेको छ। बैंकिङ प्रणालीमा कर्जा माग बढ्दै जाँदा निक्षेप परिचालनको अवस्था भने त्यही गतिमा बढ्न सकेको छैन।यसले बैंकहरूका लागि आगामी दिनमा निक्षेप संकलन र कर्जा व्यवस्थापन दुवै महत्वपूर्ण हुने संकेत गरेको छ।
साउनमा बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.१५ प्रतिशत र औसत कर्जाको ब्याजदर ६.४८ प्रतिशत रहेको छ।
समग्रमा हेर्दा, आर्थिक वर्षको सुरुवातमा नेपालको बाह्य क्षेत्र बलियो देखिएको छ। रेमिट्यान्स बढेको छ। निर्यात बढेको छ। विदेशी मुद्रा सञ्चिति बढेको छ। तर, बैंकिङ प्रणालीमा भने निक्षेप घट्दा कर्जा बढेको अवस्था देखिएको छ। साउनको तथ्यांकले आगामी महिनामा बैंकिङ प्रणालीमा निक्षेप परिचालन, कर्जा विस्तार र तरलता व्यवस्थापनलाई विशेष रूपमा हेर्नुपर्ने संकेत गरेको छ। अघिल्ला महिनाहरूमा निक्षेप बढेको र कर्जा प्रवाह घटेको देखिँदै आएको थियो। यो महिनामा भने ठिक उल्टो अर्थात् निक्षेप घटेको र कर्जा बढेको देखिएको छ ।