Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंकिङ प्रणालीमा निक्षेप १२५%, कर्जा ९०%

२०८३ आश्विन २ गते

बैंकिङ खबर  /  नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १२५.५९ प्रतिशत पुगेको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी जीडीपीको ९०.१५ प्रतिशत बराबर रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘Major Financial Indicators as on Saun End, 2083’ अनुसार कुल निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ७१.७८ प्रतिशत रहेको छ। यस्तै, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.२३ प्रतिशत रहेको छ।

निक्षेप खाता ६ करोड नाघ्यो

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल ६ करोड ३६ लाख ६६ हजार ४५२ वटा निक्षेप खाता रहेका छन्। कर्जा खाताको संख्या भने २० लाख ४४ हजार ८२६ पुगेको छ। बैंकिङ सेवाको डिजिटल प्रयोग पनि विस्तार भइरहेको देखिन्छ। राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड ३ लाख १७ हजार ५७५ पुगेको छ। त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाख ६२ हजार ६० रहेका छन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाका ५ हजार १०८ वटा एटीएम सञ्चालनमा रहेका छन्। डेबिट कार्डको संख्या १ करोड ३७ लाख ४८ हजार ९६९, क्रेडिट कार्ड ३ लाख ३४ हजार ६५३ र प्रिपेड कार्ड २ लाख ८१ हजार ७४१ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

बैंकिङ प्रणालीमा एनपीएल ५.६६ प्रतिशत

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये निष्क्रिय कर्जा (एनपीएल) ५.६६ प्रतिशत रहेको छ। वर्गअनुसार ‘क’ वर्गका बैंकको एनपीएल ५.५६ प्रतिशत, ‘ख’ वर्गको ५.७७ प्रतिशत र ‘ग’ वर्गको ९.८९ प्रतिशत रहेको छ। कुल कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थापन (लोन लस प्रोभिजन) भने ५.८३ प्रतिशत रहेको छ ।

५३ बैंक तथा वित्तीय संस्था सञ्चालनमा

साउन मसान्तसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका गरी कुल ५३ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्। यसमध्ये २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १६ वटा वित्त कम्पनी रहेका छन्।  यी संस्थाका कुल शाखा संख्या ६ हजार ३४३ पुगेको छ। वाणिज्य बैंकका ४ हजार ९३७, विकास बैंकका १ हजार ११२ र वित्त कम्पनीका २९४ शाखा रहेका छन् ।

कर्जाको औसत ब्याजदर ६.४८ प्रतिशत

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म निक्षेपमा भारित औसत ब्याजदर ३.१५ प्रतिशत रहेको छ। बचत निक्षेपको औसत ब्याजदर २.७३ प्रतिशत, मुद्दती निक्षेपको ४.७३ प्रतिशत र कल निक्षेपको ०.४९ प्रतिशत रहेको छ। यस्तै, कर्जामा भारित औसत ब्याजदर ६.४८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।