
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङमा नयाँ सिरिज र थप सुरक्षा विशेषतासहितको ५० रुपैयाँको नोट प्रचलनमा ल्याएको हो ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनाअनुसार नयाँ नोटमा ‘२०२५ ए.डी.’ सिरिज उल्लेख गरिएको छ । नयाँ नोटको संकेत नम्बर ‘ट २४ ०००००१’ देखि ‘ण ७० ९९९९९९’ सम्म रहनेछ ।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । पानीछापको मुनि ‘५०’ अंकित पानीछापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ । नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ ।
नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ । उक्त धागोलाई प्रकाशतर्फ फर्काएर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको हुन्छ ।
नोटको पछाडिको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ । चित्रको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ तथा तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ ।
नयाँ ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकको प्रतिज्ञात्मक वाक्यांशसमेत राखिएको छ । साविककै आकार र रङ कायम राखिए पनि नयाँ सिरिज र सुरक्षा विशेषताका कारण नोटमा केही परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गते जारी सूचनाअनुसार चलनचल्तीमा रहेका २०१९ सिरिजका ५० रुपैयाँका नोटसम्बन्धी व्यवस्था भने यथावत् रहनेछ । नयाँ सिरिजको नोट प्रचलनमा आएसँगै यसअघि चलनचल्तीमा रहेका ५० रुपैयाँ दरका नोट पनि कानुनी रूपमा चलनचल्तीमै रहनेछन् ।
राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको पहिचान तथा त्यसमा रहेका सुरक्षा विशेषताबारे जानकारी गराउने उद्देश्यले सूचना जारी गरेको हो ।