Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

प्रहरी समक्ष अधिकाँस मुद्धा बैंकिङ कसुर र चेक बाउन्सका

२०८३ आश्विन १ गते

बैंकिङ खबर / नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा बैंकिङ कसुरसँग जोडिन थालेको छ। चेक बाउन्सदेखि कर्जा दुरुपयोगसम्मका घटना अनुसन्धानको दायरामा छन् । आर्थिक वर्ष २०८२/८३ मा देशभर १५ हजार ४ सय ६१ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । यी मुद्दामा २ हजार ८ जना पक्राउ परेका छन् । आर्थिक अपराधमध्ये चेक बाउन्सका घटना सबैभन्दा धेरै छन् । नेपाल प्रहरीका अनुसार १२ हजार ९ सय ५० वटा चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएका छन् । चेक बाउन्सका घटनामा मात्रै १ हजार १ जना पक्राउ परेका छन् ।

सहकारी ठगीका ७५ वटा मुद्दा दर्ता भएका छन् । यसमा ३६ जना पक्राउ परेका छन्। हुन्डीसम्बन्धी ४८ वटा मुद्दा दर्ता हुँदा ६४ जना पक्राउ परेका छन्। बैंक तथा वित्तीय संस्था वा सहकारीलाई झुक्याएर कारोबार गर्ने चारवटा मुद्दा दर्ता भएका छन्। गैरकानुनी रूपमा बैंकिङ कारोबार गर्ने सम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि बैंकिङ कसुर आर्थिक अपराधको प्रमुख हिस्सा बनेको थियो। त्यो वर्ष १३ हजार ८ सय ३७ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए। यो कुल आर्थिक अपराधका मुद्दाको ८३ दशमलव ८ प्रतिशत हो। अर्थात्, आर्थिक अपराधका हरेक १० मुद्दामध्ये करिब आठवटा बैंकिङ कसुरसँग सम्बन्धित थिए ।

बैंकिङ कसुरको सबैभन्दा ठूलो हिस्सा चेक अनादरसँग जोडिएको देखिन्छ । तर बैंकिङ अपराध चेक बाउन्समा मात्रै सीमित छैन । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह र त्यसको दुरुपयोग पनि गम्भीर विषय बनेको छ। अनुसन्धानका क्रममा कर्जा दुरुपयोग, धितोको गलत मूल्यांकन र कर्मचारी तथा ऋणीबीचको मिलेमतोमा कर्जा प्रवाह भएका घटना भेटिएका छन्।

कर्जा तिर्न सक्ने क्षमता कमजोर हुँदाहुँदै कर्जा स्वीकृत गर्ने। धितोको वास्तविक मूल्यभन्दा बढी मूल्यांकन गर्ने। यस्ता गतिविधिले बैंकिङ प्रणालीमा जोखिम बढाउने गरेको देखिन्छ। खराब कर्जा लुकाउन नयाँ कर्जा दिएर पुरानो कर्जा मिलाउने ‘एभरग्रिनिङ’को अभ्यास पनि अनुसन्धानमा देखिएको छ। यसले कर्जाको वास्तविक जोखिम लुकाउने अवस्था सिर्जना गर्छ।

वास्तविक कारोबार नभएका डमी कम्पनीका नाममा कर्जा लिने र रकम अन्यत्र प्रयोग गर्ने घटना पनि अनुसन्धानमा आएका छन्। लिखत किर्ते गरेर कर्जा प्रवाह गर्ने। वास्तविक स्टक नभए पनि स्टक रहेको देखाएर कर्जा दिने। यस्ता घटना पनि बैंकिङ अपराधको अनुसन्धानमा देखिएका छन् ।

कर्जा असुलीको क्रममा समेत जोखिम देखिएको छ। धितोको उचित मूल्यांकन नगरी मिलेमतोमा लिलाम गर्ने गतिविधिले बैंक र ऋणी दुवैलाई आर्थिक क्षति पुर्‍याउन सक्छ। बैंकिङ कसुरको सूचना भने सम्बन्धित बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, पीडित व्यक्ति र बचतकर्ताबाट आउने गरेको छ। सूचना प्राप्त भएपछि आवश्यकताअनुसार अनुसन्धान अघि बढाइन्छ। समग्रमा, बैंकिङ कारोबार विस्तारसँगै बैंकिङ कसुरको स्वरूप पनि फराकिलो हुँदै गएको छ। चेक बाउन्सजस्तो सामान्य देखिने घटनादेखि कर्जा दुरुपयोग, नक्कली कागजात र मिलेमतोमा हुने कर्जासम्मका गतिविधि बैंकिङ अपराधको दायरामा देखिएका छन् ।