
बैंकिङ खबर / मुक्तिनाथ क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ आकारको नयाँ म्युचुअल फण्ड सर्वसाधारणका लागि खुला गरेको छ। क्यापिटलले १० वर्षे बन्दमुखी योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ अन्तर्गत मंगलबारदेखि इकाई निष्कासन तथा बिक्री सुरु गरेको हो ।
फण्डले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई जारी गरेको छ। यसमध्ये १ करोड ५० लाख इकाई अर्थात् कुल निष्कासनको १५ प्रतिशत प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। यसअनुसार १ हजार रुपैयाँबाटै फण्डमा लगानी सुरु गर्न सकिनेछ। अधिकतम भने १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
फण्डमा लगानी गर्न चाहनेले असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा मागअनुसार इकाई बिक्री नभएमा निष्कासनको समय असोज १५ गतेसम्म थप गर्न सकिनेछ ।
योजनाको निष्कासन सफल हुन सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये कम्तीमा ५० प्रतिशत बिक्री हुनुपर्नेछ। अर्थात् कम्तीमा ५ करोड इकाईका लागि आवेदन परेपछि मात्र बाँडफाँट प्रक्रिया अघि बढ्नेछ। आवश्यक न्यूनतम आवेदन नपुगेमा योजना खारेज गरी लगानीकर्ताबाट संकलित रकम १५ दिनभित्र फिर्ता गरिने व्यवस्था छ ।
मुक्तिनाथ म्युचुअल फण्ड–२ मा सहभागी हुन इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, ‘मेरोसेयर’को वेब तथा मोबाइल एपमार्फत पनि अनलाइन आवेदन गर्ने सुविधा उपलब्ध छ ।
१० वर्षे अवधिको यो बन्दमुखी योजनामा संकलित रकम विभिन्न लगानी क्षेत्रमा परिचालन गरिनेछ। म्युचुअल फण्डमार्फत सानो रकमबाट समेत पूँजी बजारमा सहभागी हुन चाहने लगानीकर्ताका लागि यो निष्कासन एउटा विकल्पका रूपमा आएको छ ।