Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको ५१ लाख सहयोग

२०८३ भाद्र ३० गते

बैंकिङ खबर / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले ५१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी र बैंकको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ।

बैंकका कर्मचारीले एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको हो। बाढीपछिको कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

यसैगरी, गरिमा विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासँग सम्बन्धित कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय निकायसँगको समन्वयमा उक्त सहयोग परिचालन गरिने बैंकले जनाएको छ। बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन स्थानीय समुदाय, सरकारी तथा सुरक्षा निकाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको बैंकले जनाएको छ।