Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको रक्तदान अभियान : ३२१ पिन्ट रगत संकलन

२०८३ भाद्र ३० गते

काठमाडौं । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले प्रभु बैंकले देशभर रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भदौ ३० गते सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकको केन्द्रीय कार्यालय बबरमहलसहित नारायणगढ, विराटनगर, सिमरा, अमरसिंहचोक पोखरा, बुटवल, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा कुल ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
यसअघि पनि प्रभु बैंकले बाढीका कारण प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग उपलब्ध गराएको थियो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार ३ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ। त्यसैगरी, बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँसमेत उक्त कोषमा सहयोग गरिएको थियो। बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो। प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता प्रभु बैंकले जनाएको छ।