बैंकिङ खबर / रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौ महिनाको पुरस्कार घोषणा असोज १ गते हुने भएको छ। विपत्तिका कारण पूर्वनिर्धारित समयमा गर्न नसकिएको पुरस्कार घोषणा एकैपटक गरेर भदौ महिनाका ३३ जना विजेता छनोट गरिने भएको हो।
आन्तरिक राजस्व विभागले करदातालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र कर तिर्ने व्यवहारमा अभ्यस्त गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ महिनाको पहिलो पुरस्कार घोषणा भदौ १६ गते गर्ने तयारी थियो। तर, भोटेकोशीमा आएको बाढी तथा त्यसबाट सिर्जित विपत्तिका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो । अब भने विभागले भदौ महिनाभरको कारोबारलाई समेटेर असोज १ गते पुरस्कार घोषणा गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले असोज १ गते भदौ महिनाका सबै पुरस्कारको विजेता छनोट गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
३१ जनाले पाउनेछन् दैनिक पुरस्कार
विभागका अनुसार भदौ महिनाको पुरस्कार दुई चरणमा विभाजन गरेर विजेता छनोट गरिनेछ। पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको प्रणालीमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट १५ जना विजेता छनोट हुनेछन्। यसअन्तर्गत प्रत्येक दिन एक जनाका दरले १५ जना उपभोक्ताले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाउनेछन्। यस्तै, सोही अवधिमा कारोबार गरेका उपभोक्तामध्येबाट थप एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ।
दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मको कारोबारलाई समेटिनेछ। उक्त अवधिका १६ दिनका लागि दैनिक एक जनाका दरले थप १६ जना विजेता छनोट हुनेछन्। उनीहरूले पनि १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाउनेछन्। यही अवधिमा कारोबार गर्ने उपभोक्तामध्येबाट थप एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ। यसरी असोज १ गते भदौ महिनाका लागि कुल ३३ जना विजेता छनोट हुनेछन्। त्यसमध्ये ३१ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले र दुई जनाले १० लाख रुपैयाँका दरले बम्पर पुरस्कार पाउनेछन्।
१ सय रुपैयाँभन्दा बढीको खरिदमा सहभागी हुन सकिने
करदाता प्रोत्साहन उपहारमा सहभागी हुन उपभोक्ताले १ सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्ने व्यवस्था छ। विभागले सकेसम्म अनलाइन भुक्तानीमार्फत कारोबार गर्न पनि उपभोक्तालाई प्रोत्साहित गर्दै आएको छ। अनलाइनमार्फत गरिएको कारोबार करदाता प्रोत्साहन प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ। तर, नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गएर बिलको विवरण अपलोड गर्नुपर्नेछ। त्यसपछि मात्र उनीहरूले पुरस्कारमा सहभागी हुन आवश्यक उपहार कुपन प्राप्त गर्न सक्नेछन् । भदौ १ देखि १५ गतेसम्मको कारोबारका लागि उपभोक्ताले भदौ १५ गतेभित्रै बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्नेछ। त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन प्राप्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
करदाता प्रोत्साहन पुरस्कारमा सरकारले कर कट्टी गर्ने व्यवस्था गरेको छ। पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने भएकाले दैनिक पुरस्कारको घोषित रकम १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि विजेताले कर कटाएर १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै, १० लाख रुपैयाँको बम्पर पुरस्कारमा २५ प्रतिशत कर कट्टी भएपछि विजेताको हातमा ७ लाख ५० हजार रुपैयाँ पर्नेछ।
साउनमा ३३ जना विजेता
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनामा पनि ३३ जना विजेता छनोट भएका थिए। साउन महिनाको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए। विभागले यो कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा बिल माग्ने बानीको विकास गर्नुका साथै कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने र करको दायरा विस्तार गर्ने उद्देश्य राखेको छ। बिल लिने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढेमा कारोबारको वास्तविक विवरण सरकारको प्रणालीमा आउने भएकाले राजस्व प्रशासनलाई समेत प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको अपेक्षा छ। भोटेकोशी बाढीका कारण स्थगित भएको भदौ महिनाको पुरस्कार असोज १ गते घोषणा भएसँगै अब कार्यक्रम नियमित तालिकातर्फ फर्कने विभागको तयारी छ। असोज १ गते हुने छनोटपछि भदौ महिनाका लागि योग्य भएका उपभोक्तामध्येबाट ३३ जनाले नगद पुरस्कार प्राप्त गर्नेछन्।