Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवस सम्पन्न

२०८३ भाद्र २१ गते

बैंकिङ खबर /  नेपालमा लघुवित्त क्षेत्रका अग्रणी अभियन्ता तथा प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवस सम्पन्न भएको छ। निर्धन भवन, भगवानटोल, नक्साल काठमाडौंमा आयोजित कार्यक्रम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

निर्धन संस्थाका अध्यक्ष देवेन्द्रबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा डा. हरिहरदेव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दन देव पन्तले सहभागीलाई स्वागत गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गुणाकर भट्टले नेपालमा गरिबी न्यूनीकरण तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न डा. हरिहरदेव पन्तले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए। उनले लघुवित्त सेवाको मूल उद्देश्य र मूल्य–मान्यतालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा अझै पनि ठूलो जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै लघुवित्त संस्थाहरूले वित्तीय सेवासँगै गैरवित्तीय सेवा पनि प्रभावकारी रूपमा प्रदान गर्नुपर्ने बताए। बदलिँदो आर्थिक तथा सामाजिक परिवेशअनुसार लघुवित्त नीतिलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा डा. हरिहरदेव पन्तको योगदान र तस्वीर समेटिएको पुस्तक ‘माल्यापर्ण, दीप प्रज्वलन र समृद्धिको मार्गमा, २०८३ लघुउद्यमीहरूको सफलताको कथा संग्रह’ समेत विमोचन गरिएको थियो। उक्त पुस्तकमा लघुवित्त सेवामार्फत सफल भएका उद्यमीहरूको संघर्ष र सफलताका कथाहरू समेटिएका छन् ।

स्मृति दिवसकै अवसरमा विभिन्न विधाका पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो। फाउन्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०२१–२०२३ मा ९७ प्रतिशत अंकसहित सर्वप्रथम हुने सफल विद्यार्थी कमल पौडेललाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै, लघुउद्यमशीलता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सात प्रदेशका सात जना उद्यमीलाई डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार प्राप्त गर्ने उद्यमीहरूलाई जनही ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

यसै अवसरमा उत्कृष्ट आर्थिक पत्रकारितातर्फ डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार लगानी न्युज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिएको थियो। उनलाई एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।कार्यक्रममा डा. हरिहरदेव पन्त फाउन्डेसनका तर्फबाट लघुवित्त, उद्यमशीलता, शिक्षा तथा आर्थिक पत्रकारिताका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको जानकारी दिइएको थियो ।

प्रमुख अतिथि डा. गुणाकर भट्टले डा. पन्तको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रमले समाजमा सकारात्मक प्रेरणा र महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताए। उनले लघुवित्तले विपन्न वर्गलाई उद्यमशील बनाउन वित्तीय सेवाका साथै गैरवित्तीय सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै वर्तमान चुनौती सामना गर्न लघुवित्त क्षेत्र अझ सशक्त रूपमा अघि बढ्नुपर्ने बताए ।

नेपालमा वि.सं. २०६४ मा जारी भएको लघुवित्त नीतिलाई समयसापेक्ष रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट प्रभावित हुने नेपालजस्तो मुलुकमा लघुवित्तसहित सबै क्षेत्रले सामाजिक उत्तरदायित्वलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा डा. फत्तबहादुर केसी, डा. रेवतबहादुर कार्की, भगवत भट्टराईलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा लघुवित्त क्षेत्रका विज्ञ, उद्यमी, विद्यार्थी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कार्यक्रमको समापन गर्दै निर्धन संस्थाका अध्यक्ष देवेन्द्रबहादुर राउतले पुरस्कार तथा सम्मानबाट संस्थाको जिम्मेवारी थप बढेको उल्लेख गर्दै आगामी दिनमा डा. हरिहरदेव पन्तले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै लघुवित्त तथा उद्यमशीलताको क्षेत्रमा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले डा. पन्तको निधन भएको ११ वर्ष बितिसक्दा पनि लघुवित्त क्षेत्रका लागि उहाँले देखाएको मार्गदर्शन अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँको उद्देश्य र सिद्धान्तअनुसार लघुवित्त सेवा सञ्चालन गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।