काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको र जनजीवन प्रभावित बनेको अवस्थामा राहत तथा उद्धार प्रयासमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै सरकार तथा सम्बन्धित निकायबाट सञ्चालन भइरहेका खोजी, उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने प्रतिबद्धतासहित बैंकले उक्त सहयोग गरेको हो। बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।