नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत र पुनर्स्थापनाको अवस्थाबारे जानकारी लिएका छन् । विदुरस्थित राहत तथा उद्धार कमाण्ड पोस्ट पुगेर उनले सुरक्षा निकायबाट उद्धार कार्यको प्रगतिबारे जानकारी लिएका हुन्। हाल जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको नेपाली सेनाले जनाएको छ। अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारबाट आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनले पीडित परिवारसँग भेट गरी उनीहरूका समस्या सुन्दै हराइरहेका आफन्तको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।
उनले बाढीबाट क्षतिग्रस्त ढुङ्गे र देवीघाट बजारसहित सडक तथा पुलको अवस्थासमेत निरीक्षण गरेका छन्। होल्डिङ सेन्टरमा उद्धार गरिएका स्थानीय तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग पनि उनले भेट गरेका छन्। त्यसैगरी, अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल गरेका छन्। केन्द्रबाट स्रोतको अभाव हुन नदिने भन्दै वाग्लेले सबै पक्षलाई समन्वय गरेर प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्। दिनभरको निरीक्षणपछि विदुर कमाण्ड सेन्टरमा भएको सुरक्षा ब्रिफिङमा समेत सहभागी भएका वाग्लेले सुरुङमा फसेकाको उद्धार, शव सङ्कलन र राहत वितरणलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।