बैंकिङ खबर / रसुवाको टिमुरेमा आएको भीषण बाढीका कारण त्यहाँ सञ्चालनमा रहेका ९ वटा बैंकका शाखा कार्यालय क्षतिग्रस्त भएका छन्। बाढीले टिमुरे बजार नै प्रभावित बनाएपछि बैंकका शाखा कार्यालयमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार टिमुरेमा रहेका बैंकका शाखा कार्यालयमा क्षति पुगेको जानकारी आएको छ। बाढीपछि शाखामा कार्यरत केही कर्मचारी सम्पर्कमा आउन थाले पनि केही कर्मचारीसँग अझै सम्पर्क हुन सकेको छैन।कोइरालाले कर्मचारीको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास भइरहेको बताएका छन्। उनका अनुसार टिमुरे बजार पूर्ण रूपमा ध्वस्त भएको जानकारी आएको छ ।
बाढीका कारण सञ्चार सम्पर्क प्रभावित हुँदा बैंकका कर्मचारीसँग सम्पर्क गरी शाखाको अवस्था र क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। शाखा कार्यालय सुरक्षित रहेको अपेक्षा गर्न सकिने अवस्था नरहे पनि अहिले पहिलो प्राथमिकता कर्मचारीको अवस्था बुझ्नु रहेको संघले जनाएको छ।अध्यक्ष कोइरालाका अनुसार टिमुरेमा सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबि बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकका शाखा रहेका छन् ।
बाढीबाट प्रभावित शाखा कार्यालय तथा बैंकिङ पूर्वाधारमा भएको वास्तविक क्षतिको विवरण भने कर्मचारीसँग सम्पर्क स्थापित भएपछि मात्रै यकिन हुने देखिएको छ। अहिले बैंकर्स संघले सम्बन्धित बैंक तथा कर्मचारीसँग समन्वय गर्दै अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास गरिरहेको छ ।