Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

भोटेकोशी बाढीले बैंकका शाखा बगायो, सञ्चार अवरुद्ध हुँदा क्षतिको विवरण संकलनमा कठिनाइ

२०८३ भाद्र १० गते

बैंकिङ खबर /  रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भोटेकोशीको भीषण बाढीले बस्ती तथा बजार क्षेत्रसँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढीले टिमुरे बजारको ठूलो हिस्सा प्रभावित बनाएपछि त्यहाँ सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी बैंकका शाखा कार्यालयसमेत प्रभावित भएका छन् ।

टिमुरेमा माछापुच्छ्रे बैंक, सानिमा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायतका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय रहेका थिए।बस्ती तथा बजार क्षेत्र नै बाढीले प्रभावित बनाएपछि ती शाखा कार्यालयको अवस्था र भएको क्षतिको यकिन विवरण तत्काल संकलन गर्न कठिन भएको बैंकर्स संघले जनाएको छ ।

बाढीपछि टिमुरे क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएको छ। टेलिफोन तथा अन्य सञ्चार माध्यमबाट कर्मचारीसँग सम्पर्क हुन नसक्दा शाखा कार्यालयको अवस्था, कर्मचारीको स्थितिलगायतका विषयमा तत्काल जानकारी लिन नसकिएको संघले जनाएको छ।

घटनापछि बैंकर्स संघले बुधबार आकस्मिक बैठकसमेत बोलाएको थियो। बैठकले प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको उद्धार तथा आवश्यक सहयोगका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने निर्णय गरेको संघले जनाएको छ।बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। अहिले प्राथमिकता प्रभावित क्षेत्रमा रहेका कर्मचारीको उद्धार र सुरक्षालाई दिइएको उनले बताए ।

सञ्चार सम्पर्क स्थापित भएपछि मात्रै शाखा कार्यालय, बैंकिङ उपकरण, कागजात तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न सकिने बताइएको छ ।

भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रका विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको जनजीवनसमेत प्रभावित भएको छ। बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा भएको क्षतिको विस्तृत विवरण भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट थप जानकारी आएपछि मात्रै स्पष्ट हुने देखिएको छ ।