Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

नेपाल एयरलाइन्सका दुई कर्मचारी ५० हजार डलरसहित पक्राउ

२०८३ भाद्र १ गते

बैंकिङ खबर / नेपाल एयरलाइन्सका दुई कर्मचारी ठूलो परिमाणमा अमेरिकी डलरसहित पक्राउ परेका छन्। मलेसिया जाने तयारीमा रहेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थल स्रोतका अनुसार पक्राउ पर्नेमा नेपाल एयरलाइन्सको वित्त विभागमा कार्यरत वरिष्ठ अधिकृत ममता पाण्डे र अधिकृत जननी बज्राचार्य रहेका छन्। उनीहरूबाट करिब ५० हजार अमेरिकी डलर बरामद भएको बताइएको छ ।

प्राप्त विवरणअनुसार दुवै कर्मचारी व्यक्तिगत भ्रमणका लागि मलेसिया जान लागेको बताइएको थियो। सोही क्रममा उनीहरूले साथमा राखेको ठूलो रकमका विषयमा विमानस्थलमा जाँच गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल एयरलाइन्सका प्रवक्ता देवेन्द्र पुनका अनुसार उनीहरू बिदा लिएर मलेसिया जान लागेका थिए। तर, विमानस्थलमा गरिएको जाँचका क्रममा कानुनी रूपमा बोक्न पाउने सीमाभन्दा बढी विदेशी मुद्रा भेटिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रवक्ता पुनका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कर्मचारीमाथि निगमले आवश्यक विभागीय कारबाहीसमेत अघि बढाउनेछ ।

हाल दुवै कर्मचारी प्रहरीको नियन्त्रणमा रहेका छन्। उनीहरूले बोकेको विदेशी मुद्राको स्रोत तथा कारोबारको विषयमा अनुसन्धानपछि थप विवरण स्पष्ट हुने जनाइएको छ ।