काठमाडौं । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सिद्धार्थ बैंकले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना देशभर विस्तार गरेको छ। यस योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकले २०८२ साउनदेखि परीक्षणका रूपमा ३० वटा शाखामार्फत सञ्चालन गरेको यो योजना २०८३ साउनदेखि भने देशभरका सबै शाखाबाट उपलब्ध गराएको जनाएको छ। बैंकका अनुसार महिलाको वित्तीय पहुँच बढाउने, स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित योजना विस्तार गरिएको हो।
योजनाअनुसार बिना धितो १५ लाख रुपैयाँसम्म, आंशिक धितोमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितो राख्ने महिला उद्यमीले ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। नयाँ व्यवसाय सुरु गर्न चाहने महिलाका लागि भने धितो अनिवार्य हुनेछ।
बिना धितो कर्जा प्राप्त गर्न व्यवसाय दर्ता भएको कम्तीमा पाँच वर्ष पुगेको तथा एउटै स्थानबाट तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ। आंशिक धितोमा भने व्यवसाय तीन वर्षदेखि दर्ता भएको र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको भए पुग्नेछ।
बैंकका अनुसार ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व महिलामा रहेको व्यवसाय स्वतः यो योजनाका लागि योग्य हुनेछ। २० देखि ५० प्रतिशतसम्म महिला स्वामित्व भएका संस्थाको हकमा भने प्रमुख कार्यकारी, प्रबन्ध निर्देशक, अध्यक्ष वा सञ्चालकमध्ये कम्तीमा एकजना महिला हुनुपर्ने र सञ्चालक समितिमा कम्तीमा एक महिला सदस्य अनिवार्य रहने व्यवस्था छ।
वार्षिक पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने लघु, साना तथा मझौला उद्यमले मात्र यो कर्जा लिन सक्नेछन्। ठूलो कारोबार गर्ने कर्पोरेट कम्पनीलाई भने योजनाभित्र समावेश गरिएको छैन।
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सहुलियतपूर्ण ब्याजदर व्यवस्थाअनुसार नै कर्जा प्रवाह गर्ने जनाएको छ। भुक्तानीका लागि मासिक, त्रैमासिक वा ओभरड्राफ्टमध्ये ग्राहकले आफ्नो आवश्यकता अनुसार विकल्प रोज्न सक्नेछन्।
कर्जा स्वीकृतिका लागि ग्राहकको वित्तीय ट्र्याक रेकर्ड सन्तोषजनक हुनुपर्नेछ। बिना धितो कर्जाका लागि पछिल्लो एक वर्षमा किस्ता भुक्तानीमा ढिलाइ नभएको तथा पछिल्ला दुई वर्षमा ३० दिनभन्दा बढी कर्जा भाखा नाघेको रेकर्ड हुन नहुने व्यवस्था गरिएको बैंकले जनाएको छ।
आवश्यक कागजात पूरा भएको अवस्थामा बिना धितो कर्जा करिब एक साताभित्र र धितोसहितको कर्जा करिब दुई साताभित्र स्वीकृत गर्ने लक्ष्य बैंकले राखेको छ। यस आर्थिक वर्षमा मात्रै ‘महिला समृद्धि’ कर्जा योजनामार्फत कम्तीमा एक अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य पनि बैंकले लिएको जनाएको छ।
बैंकका अनुसार पुँजी र धितोको अभावका कारण व्यवसाय विस्तार गर्न नसकेका महिला उद्यमीलाई वित्तीय पहुँच दिलाउँदै उत्पादन, रोजगारी र महिला आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको हो।


