अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन्। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलमा उनले बैंकिङ प्रणालीलाई अर्थतन्त्रको केन्द्रविन्दु भएको उल्लेख गर्दै अहिलेको आर्थिक शिथिलता अन्त्य गर्न बैंकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।
अर्थमन्त्री वाग्लेले बैंकहरूमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे। ऐतिहासिक रूपमा ब्याजदर न्यून रहँदा पनि निजी क्षेत्र लगानी विस्तारमा किन हिच्किचाइरहेको छ भन्ने विषयमा बैंकर्ससँग सुझाव माग्दै उनले समस्या मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कहाँ रहेको छ भन्नेबारे स्पष्ट धारणा दिन आग्रह गरे।
बैंकिङ प्रणालीमा रहेको निष्क्रिय पुँजीलाई उत्पादन, उद्योग र रोजगारी सिर्जनामा परिचालन गर्न आवश्यक नीतिगत तथा संरचनागत सुधारबारे पनि उनले बैंकर्ससँग सुझाव संकलन गरेका छन्। प्राप्त सुझावलाई कार्यान्वयन योग्य रोडम्यापमा रूपान्तरण गरिने उनले बताएका छन्।
अर्थमन्त्रीले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा मात्र सीमित नभई आर्थिक पुनरुत्थानका लागि साझा साझेदारी भएको उल्लेख गर्दै अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदान अझ प्रभावकारी बनाउन सरकार आवश्यक कानुनी तथा प्रक्रियागत सुधार गर्न तयार रहेको बताएका छन्।

