Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

वित्तीय ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह, यी संकेत देखिए सचेत बन्नुहोस्

२०८३ श्रावण १२ गते

बैंकिङ खबर / डिजिटल बैंकिङ, मोबाइल वालेट, क्यूआर (QR) भुक्तानी, इन्टरनेट बैंकिङ र अनलाइन लगानीको प्रयोग तीव्र गतिमा बढ्दै जाँदा वित्तीय ठगी (Financial Scam) का घटनाहरू पनि नयाँ–नयाँ स्वरूपमा देखिन थालेका छन्। यही बढ्दो जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक ले सर्वसाधारणलाई वित्तीय कारोबारमा थप सचेत रहन आग्रह गर्दै ठगीका सामान्य संकेत (Red Flags) सार्वजनिक गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको जनचेतनामूलक सामग्रीमार्फत कुनै पनि डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, ठगी गर्नेहरूको शैली तथा ठगीमा परेपछि देखिन सक्ने जोखिमबारे विस्तृत जानकारी दिइएको छ। राष्ट्र बैंकका अनुसार प्रविधिको विकाससँगै बैंकिङ सेवा सहज बनेको भए पनि साइबर अपराधीहरूले त्यसैलाई अवसरका रूपमा प्रयोग गर्दै सर्वसाधारणलाई विभिन्न बहानामा ठगी गर्ने क्रम बढाइरहेका छन्। सामाजिक सञ्जाल, मोबाइल फोन, इमेल, एसएमएस, फेक वेबसाइट, QR Code तथा विभिन्न लिंकमार्फत प्रयोगकर्तालाई झुक्याएर बैंक खातामा पहुँच बनाउने, गोप्य जानकारी चोरी गर्ने तथा रकम ठगी गर्ने प्रयास भइरहेको भन्दै बैंकले समयमै सचेत हुन सबैलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार अपरिचित व्यक्ति वा संस्थाबाट आएको लिंक वा फाइल खोल्न आग्रह गर्नु, सामान्यभन्दा फरक शैलीमा कुरा गर्दै तत्काल पैसा पठाउन दबाब दिनु, अर्कै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लगाउनु, केवल सामाजिक सञ्जालमार्फत वित्तीय कारोबार गर्न खोज्नु, Username, Password, PIN वा OTP माग्नु, तुरुन्तै निर्णय गर्न दबाब सिर्जना गर्नु, नयाँ खाता खोल्न वा व्यक्तिगत विवरण उपलब्ध गराउन आग्रह गर्नु तथा अत्यधिक नाफा हुने भन्दै आकर्षक लगानी प्रस्ताव गर्नु वित्तीय ठगीका प्रमुख संकेत हुन सक्ने उल्लेख गरिएको छ। राष्ट्र बैंकका अनुसार ठगी गर्ने व्यक्तिहरूले विश्वास जित्न विभिन्न सरकारी निकाय, बैंक, वित्तीय संस्था, मोबाइल वालेट वा परिचित कम्पनीको नामसमेत दुरुपयोग गर्न सक्छन्। कतिपय अवस्थामा उनीहरूले बैंक कर्मचारी, प्रहरी, सरकारी अधिकारी वा लगानी विज्ञका रूपमा आफूलाई चिनाएर संवेदनशील जानकारी माग्ने गरेका छन्। यस्ता कुनै पनि अवस्थामा आफ्नो व्यक्तिगत तथा बैंकिङ जानकारी कसैलाई पनि उपलब्ध नगराउन बैंकले विशेष आग्रह गरेको छ। सूचनामा वित्तीय ठगीका कारण हुन सक्ने सम्भावित क्षतिबारे पनि उल्लेख गरिएको छ। ठगीमा परेपछि पीडितले आफ्नै खाताबाट ठगको खातामा रकम पठाउने अवस्था  बैंकिङ प्रयोगकर्ता नाम, पासवर्ड, PIN तथा OTP चोरी हुने र मोबाइल वा कम्प्युटरमा अनधिकृत पहुँच स्थापना गरी सम्पूर्ण वित्तीय गतिविधि नियन्त्रणमा लिने जस्ता गम्भीर समस्या निम्तिन सक्ने राष्ट्र बैंकले जनाएको छ। एक पटक यस्ता विवरण बाहिरिएपछि बैंक खातामा रहेको रकम मात्र होइन, व्यक्तिगत गोपनीयता र डिजिटल सुरक्षासमेत जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ प्रयोगकर्तालाई कुनै पनि शंकास्पद लिंक, QR Code वा एप डाउनलोड नगर्न, अपरिचित व्यक्तिको अनुरोधमा कुनै पनि रकम ट्रान्सफर नगर्न तथा OTP, Password, PIN, CVV नम्बर वा अन्य गोप्य बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ। कुनै पनि वित्तीय कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता अनिवार्य रूपमा पुष्टि गर्नुपर्ने र अत्यधिक नाफा वा तत्काल फाइदा हुने भन्दै आउने प्रस्तावप्रति विशेष सावधानी अपनाउनुपर्ने बैंकको सुझाव छ।

राष्ट्र बैंकले शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्था, नेपाल प्रहरीको साइबर ब्युरो तथा नियामक निकायलाई जानकारी गराउन पनि आग्रह गरेको छ। साथै, वित्तीय ग्राहकका गुनासा तथा उजुरी दर्ताका लागि राष्ट्र बैंकले सञ्चालन गरेको गुनासो दर्ता अनलाइन पोर्टल (gunaso.nrb.org.np) मार्फत समेत जानकारी दिन सकिने व्यवस्था रहेको जनाएको छ। राष्ट्र बैंकका अनुसार डिजिटल अर्थतन्त्र विस्तारसँगै वित्तीय सुरक्षालाई पनि समान प्राथमिकतामा राख्न आवश्यक छ। सुरक्षित डिजिटल कारोबारका लागि प्रविधिको प्रयोगसँगै प्रयोगकर्ताको सचेतना, व्यक्तिगत जानकारीको गोपनीयता तथा जिम्मेवार व्यवहार नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हुने बैंकको निष्कर्ष छ। बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्दै सुरक्षित बैंकिङ संस्कृतिको विकास गर्न यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ। डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारलाई अझ सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन प्रत्येक सेवाग्राहीले सचेत रहनु आजको आवश्यकता भएको राष्ट्र बैंकले स्पष्ट सन्देश दिएको छ।