Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

चौतर्फी विरोधपछि एक रुपैयाँ सिक्कामा चुच्चे नक्सासहित नयाँ डिजाइन पारित !

२०८३ श्रावण ९ गते

काठमाडौं । सरकारले एक रुपैयाँको सिक्काको डिजाइन परिवर्तन गर्दै त्यसमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंकमा पुगिसकेको स्रोतले जनाएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ डिजाइनका आधारमा अब सिक्का उत्पादनको तयारी अघि बढ्नेछ। यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको चित्र समेटिएको डिजाइन स्वीकृतिका लागि पठाएको भए पनि मन्त्रिपरिषद्ले त्यसलाई परिमार्जन गर्न निर्देशन दिएको थियो। त्यसपछि तयार गरिएको नयाँ डिजाइनमा नेपालको चुच्चे नक्सासँगै आकाश भैरवको चित्र राखिएको हो।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार, नयाँ सिक्कामा नेपालको नक्सा यथावत् रहनेछ। तर सिक्काको आकार, तौल र निर्माण सामग्री भने परिवर्तन गरिनेछ। हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा यसको अंकित मूल्यभन्दा बढी खर्च लाग्ने भएकाले लागत घटाउने उद्देश्यले नयाँ सामग्री प्रयोग गर्न लागिएको हो। स्रोतका अनुसार, अहिले प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको छ। यसबाट सिक्का उत्पादन सस्तो हुने, टिकाउपन कायम रहने र वातावरणीय दृष्टिले पनि बढी उपयुक्त हुने विश्वास गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्न वा परिवर्तन गर्न मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुन्छ। सोही व्यवस्थाअनुसार सरकारले नयाँ डिजाइन स्वीकृत गरी राष्ट्र बैंकलाई कार्यान्वयनका लागि पठाएको हो। एक रुपैयाँको सिक्कामा रहने ६४ वटा थोप्लालाई ६४ योगिनीको प्रतीक मानिन्छ। सिक्कामा अंकित चित्र तथा चिन्हहरू केवल सजावटका लागि नभई सांस्कृतिक, ऐतिहासिक र राष्ट्रिय पहिचान झल्काउने उद्देश्यले समावेश गरिने परम्परा रहँदै आएको छ। सरकारले समय–समयमा सिक्काको डिजाइन, आकार र सामग्रीमा आवश्यक परिमार्जन गर्दै आएको छ।