बैंकिङ खबर/ नेपालको पुँजीबजारको विकास, नीतिगत सुधार र निजी क्षेत्रका सरोकारलाई एउटै मञ्चबाट अघि बढाउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नयाँ पुँजीबजार समिति गठन गरेको छ। महासंघले कार्यकारिणी समिति सदस्य प्रियराज रेग्मीको सभापतित्वमा २०८३ देखि २०८५ कार्यकालका लागि समिति गठन गर्दै पुँजीबजारसँग प्रत्यक्ष रूपमा जोडिएका विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वलाई समेटेको हो। महासंघले समितिका सदस्यहरूलाई औपचारिक रूपमा मनोनयनपत्रसमेत प्रदान गरिसकेको जनाएको छ। समितिको नेतृत्व सम्हाल्ने प्रियराज रेग्मी हाल ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजङ्गा सेक्युरिटिज प्रालिका अध्यक्षसमेत हुन्। लामो समयदेखि धितोपत्र बजारसँग प्रत्यक्ष रूपमा आबद्ध रेग्मीको नेतृत्वमा गठन भएको समितिले पुँजीबजारका नीतिगत विषय, लगानीकर्ता हित, वित्तीय बजार सुधार तथा निजी क्षेत्रका साझा एजेन्डालाई संस्थागत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
समितिमा पुँजीबजारसँग सम्बन्धित विभिन्न उपक्षेत्रका प्रतिनिधिहरूलाई समेटिएको छ। सदस्यका रूपमा महासंघका कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकाल, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी, नेपाल प्राइभेट इक्विटी एसोसिएसनका अध्यक्ष तथा अवसर इक्विटी फण्डका अध्यक्ष ध्रुव तिमल्सिना, ब्रोकर संघका पूर्वअध्यक्ष तथा सेक्युर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीलाई समावेश गरिएको छ। त्यसैगरी समितिमा भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमल्सिना, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका अध्यक्ष रामचन्द्र भट्टराई, अधिवक्ता ज्योति दाहाल, रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, हाथवे इन्भेष्टमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत सन्दीप शाह, इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल तथा अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशालकुमार अग्रवाललाई सदस्य बनाइएको छ। यसले पुँजीबजारको लगभग सबै प्रमुख क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको देखिन्छ। क्षेत्रीय उद्योग वाणिज्य संघहरूको सहभागितालाई समेत प्राथमिकता दिँदै समितिमा रवि महर्जन, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा, कन्काई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार शाहलाई सदस्यका रूपमा समेटिएको छ। साथै, सञ्जीव मानन्धरलाई आमन्त्रित सदस्यको जिम्मेवारी दिइएको छ। महासंघले गठन गरेको यो समिति केवल औपचारिक संरचनामा सीमित नरही पुँजीबजारसँग सम्बन्धित नीतिगत बहस, सुधारका प्रस्ताव र निजी क्षेत्रका साझा धारणा सरकार तथा नियामक निकायसम्म पुर्याउने संयन्त्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा धितोपत्र बजारमा देखिएको उतारचढाव, प्राथमिक निष्कासन (आईपीओ) व्यवस्थापन, दोस्रो बजारको स्थायित्व, संस्थागत लगानीको विस्तार, नयाँ वित्तीय उपकरणको विकास, कर्पोरेट सुशासन तथा लगानीकर्ता संरक्षणजस्ता विषयमा निजी क्षेत्रको स्पष्ट धारणा आवश्यक रहेको अवस्थामा यस्तो समिति गठनलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।
पुँजीबजार नेपालको वित्तीय प्रणालीको महत्वपूर्ण आधार बन्दै गइरहेका बेला उद्योगी–व्यवसायी, ब्रोकर, मर्चेन्ट बैंकर, निजी इक्विटी, कानुनी विज्ञ तथा लगानीकर्ता प्रतिनिधिलाई एउटै प्लेटफर्ममा ल्याइनुले निजी क्षेत्रको आवाज थप संगठित हुने विश्वास गरिएको छ। यस समितिले सरकार, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ तथा अन्य सम्बन्धित निकायसँग समन्वय गर्दै बजार सुधारका विषयमा रचनात्मक सुझाव र नीतिगत पहल अघि बढाउने अपेक्षा गरिएको छ। विशेषगरी पुँजीबजारमार्फत निजी क्षेत्रको वित्तीय पहुँच विस्तार गर्ने, उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा आकर्षित गर्ने, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा नेपालको पुँजीबजारलाई दीर्घकालीन र दिगो विकासको आधारका रूपमा स्थापित गर्ने दिशामा यो समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। महासंघले गठन गरेको नयाँ पुँजीबजार समितिलाई निजी क्षेत्र र धितोपत्र बजारबीचको समन्वयलाई थप मजबुत बनाउने रणनीतिक पहलका रूपमा समेत हेरिएको छ।


