Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सेयरधनीलाई आईसीएफसी फाइनान्सको सचेतना: बाँकी लाभांश समयमै लिन आग्रह

२०८३ श्रावण ८ गते

बैंकिङ खबर/ आईसीएफसी फाइनान्स लिमिटेडले विगत पाँच वर्षभन्दा बढी समयदेखि नबुझिएको नगद लाभांश दाबी गर्न बाँकी रहेका आफ्ना सेयरधनीलाई समयमै सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र पनि लाभांश नलिने सेयरधनीको रकम कम्पनी ऐन, २०६३ बमोजिम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने स्पष्ट पारेको हो। कम्पनीका अनुसार १५औँ र १६औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश अझै पनि केही सेयरधनीले प्राप्त गर्न बाँकी रहेको छ। लामो समयदेखि दाबी नगरिएका यी लाभांश रकम सम्बन्धित सेयरधनीले कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गरेर प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

आईसीएफसी फाइनान्सले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र लाभांश दाबी नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२ अनुसार उक्त रकम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ। कम्पनीले यसलाई कानुनी व्यवस्था भएको उल्लेख गर्दै समयसीमाभित्र आफ्नो अधिकारको रकम लिन सबै सेयरधनीलाई आग्रह गरेको छ। लाभांश दाबी गर्न बाँकी रहेका सेयरधनीको विवरण कम्पनीको आधिकारिक वेबसाइट तथा शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ। कम्पनीले सम्बन्धित लगानीकर्तालाई आफ्नो नाम विवरण जाँच गरी आवश्यक कागजातसहित शीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ। यससँगै कम्पनीले आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्मको नगद लाभांश कतिपय सेयरधनीको बैंक खातामा जम्मा हुन नसकेको जानकारी पनि दिएको छ। हितग्राही (डिम्याट) खातामा रहेको बैंक विवरण अद्यावधिक नभएको, बैंक खाता नम्बर नमिलेको वा अन्य प्राविधिक कारणले रकम स्थानान्तरण हुन नसकेको अवस्था देखिएकाले सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत बैंक खाता विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको हो। आईसीएफसी फाइनान्सले अझै पनि भौतिक (Physical) सेयर प्रमाणपत्र राखेका लगानीकर्तालाई यथाशीघ्र डिम्याट (Demat) प्रणालीमा रूपान्तरण गर्न पनि अनुरोध गरेको छ। कम्पनीका अनुसार अभौतिकीकरणपछि लाभांश, बोनस सेयर, हकप्रद तथा अन्य धितोपत्रसम्बन्धी सेवा छिटो, सुरक्षित र पारदर्शी रूपमा प्राप्त गर्न सहज हुने भएकाले सबै लगानीकर्ताले समयमै डिम्याट प्रक्रिया पूरा गर्नु आवश्यक छ।

कम्पनीले अर्को महत्वपूर्ण विषय पनि स्पष्ट पारेको छ। हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खाता नम्बर नमिल्दा वा अन्य प्राविधिक कारणले आईपीएस (IPS) प्रणालीमार्फत लाभांश पुनः पठाउनुपर्ने अवस्था आएमा प्रति सेयरधनी ५ रुपैयाँ रि–प्रोसेसिङ शुल्क लाग्ने व्यवस्था रहेको जनाएको छ। त्यसैले अतिरिक्त शुल्कबाट बच्न र लाभांश समयमै प्राप्त गर्न बैंक खाता विवरण सही राख्न कम्पनीले सुझाव दिएको छ। आईसीएफसी फाइनान्सका अनुसार पछिल्लो समय धितोपत्र बजारमा डिजिटल सेवा विस्तारसँगै लाभांश वितरण प्रक्रियालाई पनि पूर्ण रूपमा व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ। त्यसैअनुसार सेयरधनीले आफ्नो केवाईसी विवरण, बैंक खाता, डिम्याट खाता तथा सम्पर्क विवरण नियमित रूपमा अद्यावधिक गर्नु आवश्यक रहेको कम्पनीको भनाइ छ। कम्पनीले समयमै लाभांश दाबी नगर्दा कानुनी व्यवस्थाअनुसार रकम लगानीकर्ता संरक्षण कोषमा जाने भएकाले सबै सेयरधनीलाई तोकिएको समयसीमाभित्र आफ्नो बाँकी लाभांश बुझिलिन, बैंक विवरण अद्यावधिक गर्न तथा भौतिक सेयरलाई डिम्याट प्रणालीमा रूपान्तरण गरी भविष्यमा लाभांश वितरण प्रक्रियामा कुनै समस्या नआउने वातावरण बनाउन आग्रह गरेको छ।