काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा पूँजी सुदृढीकरण, संस्थागत क्षमता विस्तार र प्रतिस्पर्धी क्षमता बढाउने उद्देश्यले पछिल्ला वर्षहरूमा मर्जर तथा प्राप्ति (एमए) को प्रक्रिया निरन्तर अघि बढिरहेको छ। यही क्रममा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) एकीकृत कारोबार सुरु गरेपछि नयाँ संस्था पोखरा फाइनान्स लिमिटेड ले नयाँ सञ्चालक समिति गठन गरेको छ।
शुक्रबार बिहान बसेको सञ्चालक समितिको पहिलो बैठकले संस्थाको नयाँ नेतृत्व चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा अजय कुमार मिश्र चयन भएका छन्। मर्जर पछि फाइनान्सको सिइओमा प्रकाश गुरुङ रहेका छन् ।
नयाँ सञ्चालक समितिमा सुदिप घिमिरे, प्रतिक गुरुङ, पद्मोदय प्रालिको तर्फबाट दिनेश कुमार वर्तोला, दुर्गा थापा, तिल बहादुर गुरुङ र याम बहादुर सुर्खाली सदस्यका रूपमा चयन भएका छन्। मर्जरपछि गठित नयाँ सञ्चालक समितिले संस्थाको भावी रणनीति, व्यवसाय विस्तार तथा सुशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नेपालको वित्तीय क्षेत्रमा मर्जर अभियान सुरु भएदेखि विशेषगरी फाइनान्स कम्पनीहरूमा उल्लेखनीय संरचनात्मक परिवर्तन देखिएको छ। नेपाल राष्ट्र बैंकले संस्थागत क्षमता अभिवृद्धि, न्यून लागतमा सेवा विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण तथा पूँजी आधार मजबुत बनाउन मर्जरलाई प्रोत्साहन दिँदै आएको छ। यसको परिणामस्वरूप विगतमा छुट्टाछुट्टै सञ्चालनमा रहेका धेरै फाइनान्स कम्पनीहरू एकीकृत भई ठूला र तुलनात्मक रूपमा बलिया संस्थाका रूपमा स्थापित भएका छन्।
विशेषगरी पछिल्ला केही वर्षयता वित्तीय क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, डिजिटल बैंकिङको विस्तार, नियामकीय मापदण्डको कडाइ तथा सञ्चालन खर्च व्यवस्थापनको चुनौतीका कारण फाइनान्स कम्पनीहरूले पनि मर्जरलाई रणनीतिक विकल्पका रूपमा अपनाउन थालेका छन्। यसले संस्थाहरूको वित्तीय क्षमता बढाउनुका साथै ग्राहकलाई थप विविध र गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।
समृद्धि फाइनान्स र पोखरा फाइनान्सको एकीकरणलाई पनि यही अभियानको निरन्तरताका रूपमा हेरिएको छ। मर्जरपछि संस्थाले आफ्नो शाखा सञ्जाल, पूँजी आधार, प्रविधि तथा मानव स्रोतलाई एकीकृत गर्दै बजारमा थप प्रभावकारी उपस्थिति बनाउने लक्ष्य लिएको छ।




