बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने केही आधारभूत बैंकिङ सेवामा ग्राहकबाट कुनै पनि सेवा शुल्क लिन नपाइने व्यवस्था गरेको छ। एकीकृत निर्देशन–२०८२ अनुसार खाता खोल्ने, चेक जारी गर्ने (गुड फर पेमेन्ट चेकसमेत), स्टप पेमेन्ट, मौज्दात प्रमाणित गर्ने, खाता सञ्चालन तथा बन्द गर्ने, स्टेटमेन्ट उपलब्ध गराउने, विप्रेषण रकम खातामा जम्मा गर्ने र ई–बैंकिङ सेवा प्रदान गर्दा शुल्क लिन पाइने छैन।
यस्तै, निष्क्रिय खाता पुनः सक्रिय गर्दा पनि कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। खातामा रहेको रकम न्यूनतम मौज्दातभन्दा कम भएको भन्दै रकम कटौती गर्न नपाइने र न्यूनतम मौज्दातमा समेत तोकिएको ब्याज उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ। यसका साथै, बैंकहरूले अन्य सेवा शुल्कबारे ग्राहकलाई पूर्ण जानकारी दिनुपर्ने तथा नेपाली मुद्रामा जारी गरिएका डेबिट वा अन्य विद्युतीय कार्डको अवधि समाप्त नभएसम्म नवीकरण शुल्क लिन नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।


