बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गर्दै आएको नियम, निर्देशन र परिपत्रलाई सरल र स्पष्ट बनाउने प्रक्रिया सुरु गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिअनुसार नियमन र सुपरिवेक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन विद्यमान निर्देशनमा रहेका भाषागत जटिलता, अस्पष्टता र दोहोरो व्यवस्था हटाइनेछ।
यसका लागि पहिलो चरणमै कर्जा प्रवाह, ब्याजदर निर्धारण तथा वित्तीय ग्राहक संरक्षणसँग सम्बन्धित निर्देशनहरू पुनःलेखन गरिने राष्ट्र बैंकले जनाएको छ। जटिल कानुनी तथा प्राविधिक भाषाको सट्टा बैंक तथा सेवाग्राही दुवैले सहज रूपमा बुझ्न सक्ने शैलीमा निर्देशन तयार गरिने लक्ष्य लिइएको छ। त्यसैगरी विदेशी विनिमय कारोबारलाई थप सहज र व्यवस्थित बनाउन विदेशी विनिमय कारोबार गर्ने संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्रलाई पनि सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ। राष्ट्र बैंकका अनुसार निर्देशनहरूलाई सरल र व्यवस्थित बनाउने यस अभियानले बैंक तथा वित्तीय संस्थाहरूको नियामकीय पालना (Compliance) सहज हुने, कार्यसम्पादनमा दक्षता बढ्ने तथा सेवाग्राहीले थप पारदर्शी, सहज र एकरूप सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
मौद्रिक नीतिको पूर्ण पाठ


