Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ सेवाप्रति ग्राहक कत्तिको सन्तुष्ट ? राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्दै

२०८३ असार १८ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवाप्रति ग्राहकको वास्तविक सन्तुष्टि मापन गर्न देशव्यापी ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण–२०८३’ सञ्चालन गर्ने भएको छ। सर्वेक्षणबाट प्राप्त नतिजालाई वित्तीय ग्राहक संरक्षण, सेवा गुणस्तर सुधार तथा नियामकीय नीतिलाई थप प्रभावकारी बनाउन उपयोग गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षण देशका सबै ७७ जिल्लामा सञ्चालन हुनेछ। स्थानीय तहबाट र्यान्डम स्याम्पलिङ ९च्बलमयm क्बmउष्लिन० विधिबाट वडा छनोट गरी १० हजार ४०५ जना सहभागीबाट तथ्यांक संकलन गरिनेछ।

सर्वेक्षणमा बैंक तथा वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको अनुभव र धारणा समेटिनेछ।

राष्ट्र बैंकले सर्वेक्षणबाट प्राप्त निष्कर्षका आधारमा वित्तीय ग्राहक संरक्षणसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्था थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न र ग्राहकमैत्री बैंकिङ प्रणाली विकास गर्न पनि अध्ययन उपयोगी हुने विश्वास लिइएको छ।

सर्वेक्षणलाई निष्पक्ष र विश्वसनीय बनाउन सम्बन्धित सबै पक्षसँग आवश्यक सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुने र सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणका क्रममा संकलित व्यक्तिगत विवरण तथा सूचना तथ्यांक ऐन, २०७९ बमोजिम पूर्ण रूपमा गोप्य राखिनेछ। ती तथ्यांक अनुसन्धान तथा नीतिगत प्रयोजनका लागि मात्र सामूहिक रूपमा प्रयोग गरिने जनाइएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय र सर्वसाधारणलाई सर्वेक्षण सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्न पनि अनुरोध गरेको छ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार यस्तो सर्वेक्षणले ग्राहकको दृष्टिकोणबाट बैंक तथा वित्तीय संस्थाको सेवा मूल्याङ्कन गर्न, सेवा प्रवाहमा रहेका कमजोरी पहिचान गर्न तथा भविष्यका नियामकीय सुधारका लागि आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी डिजिटल बैंकिङको विस्तार, ग्राहक संरक्षण र वित्तीय समावेशीकरणलाई प्रभावकारी बनाउन सर्वेक्षणको नतिजा उपयोगी हुने विश्वास गरिएको छ।