Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेबोन अध्यक्षसँग ब्रोकरहरूको अपेक्षा : बजारको सुधार र लगानीकर्ताको विश्वासमा जोड

२०८३ असार १८ गते

बैंकिङ खबर / नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ नेतृत्व आएसँगै पुँजी बजार सुधारले गति लिने अपेक्षा बढेको छ। यही अपेक्षालाई औपचारिक रूपमा व्यक्त गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग भेट गरी बजार सुधारका प्राथमिकताबारे छलफल गरेको छ।

एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै नेपालको पुँजी बजारलाई थप गतिशील, पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सुधारमा विशेष ध्यान दिन आग्रह गरेको थियो।

भेटका क्रममा अध्यक्ष भट्टले पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले बजारको विश्वसनीयता कायम राख्दै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नु बोर्डको पहिलो प्राथमिकतामध्ये एक रहने बताए। यसका लागि नियामकीय संरचनालाई थप प्रभावकारी बनाउने, सुशासनलाई संस्थागत गर्ने र प्रविधिमैत्री सेवा विस्तार गर्ने योजनामा बोर्ड अघि बढ्ने उनले संकेत दिए।

उनले सरकारको बजेट तथा नीति–कार्यक्रममा समेटिएका पुँजी बजारसम्बन्धी योजनालाई कार्यान्वयनमा लैजान बोर्ड सक्रिय रहने पनि बताए। बजारको दीर्घकालीन विकासका लागि नियामक निकाय, ब्रोकर, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर तथा लगानीकर्ताबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

स्टक ब्रोकर एसोसिएसनले पनि नयाँ नेतृत्वसँग सहकार्य गर्दै बजार विस्तारका कार्यक्रमलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। सागर अध्यक्ष ढकालले नेपालको पुँजी बजारलाई क्षेत्रीय स्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत स्थिरता, प्रविधिको व्यापक प्रयोग र लगानीकर्ताको विश्वास बढाउने सुधार आवश्यक रहेको धारणा राखे।

भेटका क्रममा बजेटमा घोषणा भएका पुँजी बजारसम्बन्धी कार्यक्रमको कार्यान्वयन, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा विस्तार, बजार पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल सेवाको विस्तारजस्ता विषयमा समेत छलफल भएको थियो।

लामो समय नेतृत्वविहीन अवस्थाबाट गुज्रिएको धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारका सरोकारवालाले सुधारको गति बढ्ने अपेक्षा गरेका छन्। विशेषगरी नीतिगत निर्णयमा स्पष्टता, नयाँ लगानी उपकरणको विकास, बजारको दायरा विस्तार र लगानीकर्तामैत्री वातावरण निर्माणमा बोर्डले प्रभावकारी भूमिका खेल्नुपर्ने अपेक्षा बजार सहभागीहरूको छ।

यही सन्दर्भमा ब्रोकर एसोसिएसन र बोर्डबीच भएको पहिलो औपचारिक भेटलाई केवल शुभकामना आदानप्रदानका रूपमा मात्र नभई आगामी दिनमा पुँजी बजार सुधारका एजेन्डामा सहकार्यको प्रारम्भिक संकेतका रूपमा समेत हेरिएको छ।