बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हित र पुँजी बजार सुधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि लोभ, प्रभाव वा दबाबमा नपरी बजारको विश्वसनीयता कायम गर्न आग्रह गरे।
उनले पुँजी बजार सुधारका लागि तत्कालदेखि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न, बजारमा फैलिने अनावश्यक हल्ला नियन्त्रण गर्न र लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्न निर्देशन दिए। “धेरै बोलेर होइन, कामबाट परिणाम देखाउनुहोस्,” भन्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट अनावश्यक हस्तक्षेप नहुने तर हरेक हप्ता बजारको अवस्थाबारे जानकारी चाहिने बताए ।
नवनियुक्त अध्यक्ष डा. भट्टले सरकारको आर्थिक लक्ष्य र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका अध्ययन तथा सुझाव कार्यान्वयन गर्दै पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने बताए । नयाँ नेतृत्वसामु घट्दो बजार विश्वास फर्काउने, प्रभावकारी नियमन गर्ने र पुँजी बजारलाई आर्थिक वृद्धिको माध्यम बनाउने मुख्य चुनौती रहेको छ।


