Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

स्थायी सरकारमाथि सेयरबजारको झड्का : २१ अर्बको कारोबार २ अर्बमा सीमित

२०८३ असार १५ गते

बैंकिङ खबर /  नेपालमा स्थायी सरकार बनेपछि आर्थिक क्षेत्रमा नयाँ गति आउने अपेक्षा गरिएको थियो। राजनीतिक स्थिरताले लगानीकर्ताको मनोबल बढाउने, निजी क्षेत्र विस्तार हुने र पूँजी बजारले सकारात्मक गति लिने अनुमान थियो। तर पछिल्लो समयको शेयर बजारको अवस्थाले यी अपेक्षामाथि प्रश्न खडा गरेको छ। स्थायी सरकारको कार्यकालमा समेत शेयर बजार निरन्तर ओरालो लागिरहेको छ। बजार परिसूचक घट्नुका साथै कारोबार रकममा आएको ठूलो गिरावटले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको संकेत गरेको छ। राजनीतिक स्थिरताको लाभ आर्थिक गतिविधिमा रूपान्तरण हुन नसकेको अवस्था देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार गत जेठ १२ गतेदेखि असार १२ गतेसम्म एक महिनाको अवधिमा नेप्से परिसूचक १२८ अंकले घटेको छ। जेठ १२ गते २ हजार ७ सय ७७ अंकमा रहेको बजार असार १२ गतेसम्म आइपुग्दा २ हजार ६४९ अंकमा झरेको छ। बजारको यो गिरावट केवल अंकको कमी होइन, लगानीकर्ताको मनोविज्ञानमा आएको परिवर्तनको संकेत पनि हो।

स्थिर सरकार, तर बजारमा अस्थिरता

नेपालको शेयर बजार विगतमा राजनीतिक घटनाक्रमसँग धेरै प्रभावित हुने गरेको थियो। सरकार परिवर्तन, नीति परिवर्तन र राजनीतिक अन्योलका कारण लगानीकर्ताले जोखिम महसुस गर्दै आएका थिए।

तर यसपटक स्थिर सरकार हुँदा पनि बजारले अपेक्षित प्रतिक्रिया दिन सकेन। लगानीकर्ताले स्थिर सरकारबाट नीतिगत सुधार, लगानी विस्तार र आर्थिक गतिविधिमा तीव्रताको अपेक्षा गरेका थिए। तर वास्तविक अर्थतन्त्रमा सुधारको गति कमजोर देखिँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ।

शेयर बजार भविष्यको अर्थतन्त्रको संकेत गर्ने महत्वपूर्ण सूचक मानिन्छ। बजार निरन्तर घट्नुले लगानीकर्ताको अपेक्षा र वास्तविक आर्थिक अवस्थाबीच दूरी बढेको देखाउँछ।

२१ अर्बको कारोबार २ अर्बमा सीमित

शेयर बजारमा आएको सबैभन्दा ठूलो परिवर्तन कारोबार रकममा देखिएको छ। गत फागुन २६ गते नेप्सेमा दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँभन्दा माथि पुगेको थियो। तर असार १२ गतेसम्म आइपुग्दा कारोबार रकम घटेर करिब २ अर्ब रुपैयाँमा सीमित भएको छ। अहिले दैनिक ३ अर्ब रुपैयाँ बराबरको कारोबार हुनसमेत कठिन भइरहेको छ। कारोबार रकम घट्नुले बजारमा लगानीकर्ताको सहभागिता कमजोर भएको देखाउँछ। बजार बढ्ने विश्वास नभएसम्म नयाँ लगानीकर्ता प्रवेश गर्न हिच्किचाउने र पुराना लगानीकर्ता पनि जोखिम लिन तयार नहुने अवस्था सिर्जना हुन्छ।

लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा

लगातारको गिरावटले लगानीकर्तालाई प्रत्यक्ष असर गरेको छ। बजारमा सक्रिय खरिदकर्ताको कमी हुँदा बिक्री दबाब बढेको छ। पछिल्लो साता मात्रै नेप्से ५१ अंकले घटेको छ। साताका पाँचै कारोबार दिन बजार घटेर बन्द भएको छ। लगातार ओरालो लाग्दा लगानीकर्ताको मनोविज्ञानमा डर बढेको छ। अहिले धेरै लगानीकर्ता तत्काल खरिदभन्दा पनि बजारको दिशा स्पष्ट हुने प्रतीक्षामा छन्। एक महिनाको अवधिमा बजार पुँजीकरण करिब ७३ अर्ब रुपैयाँले घटेको छ। गत चैत १२ गते करिब ४ खर्ब ७३ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण असार १२ गतेसम्म आइपुग्दा करिब ४ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ। शेयर बजारमा सुधारका लागि केवल राजनीतिक स्थिरता पर्याप्त हुँदैन। बजारले आर्थिक गतिविधिको गति, कम्पनीहरूको आम्दानी, बैंकिङ क्षेत्रको अवस्था र नीतिगत स्पष्टता हेर्छ। अहिले बैंक तथा वित्तीय क्षेत्रमा कर्जा विस्तार अपेक्षित रूपमा बढ्न नसक्नु, खराब कर्जाको दबाब र निजी क्षेत्रको कमजोर मनोबलले पनि बजारलाई प्रभावित गरेको छ।