Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

राष्ट्र बैंकले आजबाट नयाँ ५०० रुपैयाँको नोट चलनचल्तीमा ल्यायो

२०८३ असार ३ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले रुपैयाँ ५०० दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार साविककै आकार र रङमा नयाँ विशेषतासहितको नोट २०८३ असार ३ गतेदेखि प्रचलनमा आएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा नेपाल सरकारको जमानत प्राप्त भएको उल्लेखसहित हिमालको चित्र, लालीगुँरासको पानीछाप, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट पहिचान गर्न सक्ने चिन्ह तथा विभिन्न सुरक्षा विशेषता समावेश गरिएको छ।

नोटको अग्रभागमा हिमालको चित्रसँगै ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। त्यस्तै नोटमा ३.५ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने राष्ट्र बैंकले जनाएको छ। नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ। त्यसमाथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने तल्लो भागमा ‘RUPEES FIVE HUNDRED’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ। राष्ट्र बैंकले यसअघि जारी गरिएको ५०० रुपैयाँ दरका बैंकनोटहरू पनि यथावत् कानुनी रूपमा चलनचल्तीमा रहने जनाएको छ। नयाँ नोटले सुरक्षा विशेषता थप मजबुत बनाउँदै नक्कली नोट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुद्रा व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट क्रमशः बजारमा वितरण गरिने जनाएको छ।