Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

एआई र डिजिटलाइजेसनमा लगानी बढाउनुपर्छ : डा. गुणाकर भट्ट

२०८३ असार २ गते

बैंकिङ खबर / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले नेपालको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र दिगो विकासका लागि कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटलाइजेसनमा लगानी बढाउनुपर्ने बताएका छन् । मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘एआई एन्ड डिजिटलाइजेसन समिटलाई सम्बोधन गर्दै डा. भट्टले नेपाल अहिले न्यून आय भएको अर्थतन्त्रबाट उच्च आर्थिक वृद्धिको दिशामा अघि बढिरहेको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारले लिएको जानकारी दिए। उक्त लक्ष्य हासिल गर्न परम्परागत विकासका मोडेल मात्र पर्याप्त नहुने र प्रविधिमैत्री विकास रणनीति अपनाउन आवश्यक रहेको उनको भनाइ थियो। उनले एआई र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने, सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउन सकिने तथा आर्थिक गतिविधिलाई थप प्रतिस्पर्धी बनाउन सकिने बताए। कृषि, उद्योग, बैंकिङ, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा क्षेत्रमा एआईको प्रयोगले उल्लेखनीय परिवर्तन ल्याउन सक्ने उनको धारणा थियो।

“विश्व अर्थतन्त्र अहिले डिजिटल प्रविधि र नवप्रवर्तनको जगमा अघि बढिरहेको छ। नेपालले पनि आर्थिक विकासको गति बढाउन र विश्वव्यापी प्रतिस्पर्धामा टिक्न प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ,” उनले भने। डा. भट्टले एआई र डिजिटलाइजेसनलाई केवल प्रविधिको विषय नभई आर्थिक विकास, रोजगारी सिर्जना, नवप्रवर्तन, प्रवर्द्धन र समग्र राष्ट्रिय समृद्धिसँग जोडिएको रणनीतिक क्षेत्रका रूपमा लिनुपर्ने बताए। उनले डिजिटल पूर्वाधार विस्तार, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा नीतिगत सुधारमार्फत डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार एआईको प्रयोगले व्यवसाय सञ्चालन, उत्पादन व्यवस्थापन, वित्तीय सेवा, कृषि उत्पादन तथा सरकारी सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउन सक्छ। यसबाट लागत घट्ने, दक्षता बढ्ने र सेवा प्राप्तिमा नागरिकको पहुँच विस्तार हुने विश्वास उनले व्यक्त गरे। मिडिया इन्टरनेसनलले आयोजना गरेको उक्त समिटमा नीति निर्माता, बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, निजी क्षेत्रका अगुवा, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालको डिजिटल भविष्य, एआईको सम्भावना, साइबर सुरक्षा, डिजिटल वित्तीय साक्षरता तथा प्रविधिमार्फत आर्थिक विकासका विविध आयामबारे छलफल गरिएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन सके आर्थिक विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने धारणा राख्दै एआई र डिजिटल प्रविधिलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।