Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रमा एआईको प्रयोगले उल्लेखनीय सुधार ल्याउन सक्छ : बरिष्ठ अर्थविद श्रेष्ठ

२०८३ असार १ गते

काठमाडौं । वरिष्ठ बैंकिङ विज्ञ तथा अर्थविद् डा. प्रकाशकुमार श्रेष्ठले बैंकिङ तथा वित्तीय क्षेत्रमा एआईको प्रभावकारी प्रयोगले सेवा प्रवाह, कार्यक्षमता र उत्पादकत्वमा उल्लेखनीय प्रगति हुन सक्ने बताएका छन् । एआई डिजिटल फाइनान्स समिटमा बोल्दै उनले प्रविधिको तीव्र विकाससँगै विश्वभर एआईको प्रयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालले पनि समयानुकूल रूपमा यस प्रविधिको उपयोगलाई विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले विशेषगरी बैंकिङ तथा वित्तीय क्षेत्रमा एआईको प्रभावकारी प्रयोगले सेवा प्रवाह, कार्यक्षमता र उत्पादकत्वमा उल्लेखनीय सुधार ल्याउन सक्ने बताए। बैंक तथा वित्तीय संस्थाहरूले डिपोजिट मोबिलाइजेसन बढाउने, ग्राहकको व्यवहार विश्लेषण गर्ने, व्यक्तिगत आवश्यकताअनुसार सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ थियो।

डा= श्रेष्ठका अनुसार बैंकिङ क्षेत्रमा ग्राहक सेवा सुधार, जोखिम व्यवस्थापन, धोखाधडी नियन्त्रण, कर्जा मूल्याङ्कन तथा सञ्चालन खर्च न्यूनीकरणजस्ता क्षेत्रमा एआईको प्रयोग अत्यन्त उपयोगी हुन सक्छ। एआईमा आधारित प्रणालीले ठूलो मात्रामा उपलब्ध डेटा विश्लेषण गरी छिटो र प्रभावकारी निर्णय लिन सहयोग पुर्‍याउने भएकाले वित्तीय संस्थाहरूको प्रतिस्पर्धात्मक क्षमता समेत बढ्न सक्ने उनले बताए।

उनले बैंकिङ क्षेत्रलाई सहयोग पुर्‍याउने विभिन्न डिजिटल प्रणाली, स्वचालित सेवा तथा डेटा व्यवस्थापन प्रणालीहरूमा एआईको प्रयोगले उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। साथै, डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकको अपेक्षा पनि परिवर्तन भइरहेकाले बैंकहरूले प्रविधिमैत्री सेवा विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो।

डा. श्रेष्ठले वित्तीय मध्यस्थता ९फाइनान्सियल इन्टरमिडियसन० को परम्परागत अभ्यास अब पर्याप्त नहुने उल्लेख गर्दै बैंकिङ प्रणाली डेटा, विश्लेषण र प्रविधिमा आधारित हुनुपर्ने बताए। उनका अनुसार भविष्यको बैंकिङ क्षेत्र डिजिटल प्रविधि, बिग डेटा र कृत्रिम बुद्धिमत्ताको समुचित उपयोगमा निर्भर रहनेछ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमा लगानी बढाउनुका साथै आवश्यक जनशक्ति विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले एआईलाई केवल प्रविधिगत नवप्रवर्तनको रूपमा मात्र नभई बैंकिङ क्षेत्रको दीर्घकालीन विकास, वित्तीय पहुँच विस्तार र सेवा गुणस्तर सुधारको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। समयानुकूल प्रविधि अपनाउन नसक्ने संस्थाहरू भविष्यमा प्रतिस्पर्धामा पछाडि पर्न सक्ने चेतावनी दिँदै उनले बैंकिङ क्षेत्रलाई डिजिटल रूपान्तरणको नयाँ चरणमा प्रवेश गराउन एआईको प्रयोग अपरिहार्य बन्दै गएको बताए।