Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहकारी पीडीतहरु काठमाडौं महानगरको शरणमा !

२०८३ जेष्ठ २१ गते

बैंकिङ खबर/ सरकारले संकट घोषणा नगरेका कैयौं सहकारीबाट ठगीएको भन्दै काठमाडौं महानगरपालिकामा पीडीतहरुले धर्ना दिएका छन् । सहकारीबाट ठगीएको भन्दै महानगरमा उजुरी दर्ता गर्नेको संख्या अत्याधिक बढेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा सहकारी पीडितहरूको उजुरी संख्या पछिल्लो समय तीव्र रूपमा बढेको छ। बचत रकम फिर्ता गराइदिन माग गर्दै ६ हजार ३०० जना बचतकर्ताले उजुरी दर्ता गरेका छन्। ती उजुरीहरूमा  ४ अर्ब ७७ करोड बचत रकम फिर्ता माग गरिएको छ। महानगरको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार अधिकांश उजुरी साना बचतकर्ताहरूबाट आएका छन्, जसमा १ लाखदेखि ५ लाख रुपैयाँसम्मका बचत फसेका घटनाहरू धेरै छन्।

महानगरपालिकाले प्राप्त उजुरीका आधारमा सम्बन्धित सहकारीहरूसँग छलफल, बचत फिर्ता गराउने सहजीकरण तथा आवश्यक परे कानुनी प्रक्रियासमेत अघि बढाइरहेको जनाएको छ। उजुरीहरूमा बचत फिर्ता नगर्ने, शेयर रकम नदिने, कार्यालय बन्द गरेर सम्पर्कविहीन हुने, सञ्चालक फरार हुन खोज्ने लगायतका समस्या समावेश छन्।

यसअघि पनि काठमाडौं महानगरमा सहकारीसम्बन्धी समस्या गम्भीर देखिएको थियो। सन् २०२३ मा महानगरले १२३ वटा सहकारीविरुद्ध २ हजारभन्दा बढी पीडितबाट उजुरी प्राप्त भएको जनाएको थियो भने केही वर्षअघि मात्रै एक आर्थिक वर्षमा २७ सहकारीविरुद्ध १ हजारभन्दा बढी उजुरी दर्ता भएका थिए।

यसरी हेर्दा, काठमाडौं महानगरपालिकामा सहकारी पीडितको उजुरी संख्या हाल ६,३०० नाघिसकेको देखिन्छ, जुन सहकारी संकटको गम्भीरता झल्काउने महत्वपूर्ण तथ्यांक हो।