बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारमा पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने विषयलाई स्पष्ट पारेका छन्। बजेटपछि पत्रकारहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम करका रूपमा मानिने उल्लेख गरे । उनले त्यसमा थप कर नलाग्ने दोहोर्याए। सेयर लगानीकर्ताबीच करसम्बन्धी देखिएको अन्योल हटाउन सरकारले यस विषयमा स्पष्ट व्यवस्था गरेको बताउँदै उनले भारतमा सेयर कारोबारको अवधि अनुसार अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर फरक–फरक दरमा लाग्ने व्यवस्था रहेको स्मरण गरे । नेपालमा भने लामो समयदेखि पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने विषयमा दुविधा रहेको भन्दै उनले सेयर कारोबारमा पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने विषयलाई स्पष्ट पारे । सरकारले व्यक्तिगत लगानीकर्ताले सेयर किनेको एक वर्षभन्दा कम अवधिमै बिक्री गर्दा लाभ भएमा अब १० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ।
यसअघि यस्तो कर ७.५ प्रतिशत थियो भने अब सेयर किनेको एक वर्षभन्दा बढी अवधिपछि बिक्री गरेर लाभ भएमा ७.५ प्रतिशत तिर्नुपर्छ। अहिले यस्तो लाभमा ५ प्रतिशत कर तिरे हुने व्यवस्था छ।उनले केही पक्षले अनावश्यक रूपमा भ्रम फैलाएको दाबी गर्दै करको विषयमा गलत व्याख्या नगर्न आग्रह गरे। उनका अनुसार सेयर कारोबारबाहेक अन्य व्यवसाय वा आम्दानीका स्रोत भएका व्यक्तिले सम्बन्धित कारोबारअनुसार कर तिर्नुपर्ने भए पनि सेयर कारोबारबाट प्राप्त लाभमा भने पुँजीगत लाभकर नै अन्तिम कर हुनेछ।
