Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माघको दोस्रो साता साढे ९३ लाख कित्ता सेयर निष्काशन हुँदै

admin २०७३ पुष २६ गते
सेयर:

माघको दोस्रो साता तीन वटा वित्तीय संस्थाको ९३ लाख ५१ हजार आठ सय १५ कित्ता सेयर निष्काशन हुँदैछ । माघको ९ गते फरवार्ड कम्युनिटीले साधारण सेयर निष्काशन गर्दैछ भने सोही दिन देवः विकास बैंकको हकप्रद सेयर पनि निष्काशन हुँदैछ । त्यस्तै, माघ १० गते मञ्जुश्री फाइनान्सले हकप्रद सेयर निष्काशन गर्दैछ । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको छ लाख कित्ता आईपिओ
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर (आईपिओ) माघ ९ गतेदेखि निष्काशन हुने भएको छ । माइक्रोपÞmाईनान्सले एक सय रुपैयाँ अंकित दरमा ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । संस्थाको सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।  

संस्थाले ३० हजार कित्ता सेयर कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ । बाँकी ५ लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् । यसबाहेक, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा र उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सेयर निष्काशन छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते बन्द हुनेछ ।

संस्थाले गत पुस १९ गते नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशन गर्न अनुमति पाएको थियो । दुवही सुनसरी प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोपÞmाईनान्स वित्तीय संस्थाले २०६९ सालमा नेपाल राष्ट्र बैंकबाट ’घ’ बर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती प्राप्त गरेको थियो । 

हाल फरवार्ड कम्युनिटीको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । आईपिओ जारी गरेपछि संस्थाको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम हुनेछ । नेटवर्थ ३५० रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी १२६.९५ रुपैयाँ रहेको छ ।

देवः विकास बैंकको ४४ लाख कित्ता हकप्रद सेयर
देवः विकास बैंकको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर आगामी माघ ९ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरमा ४४ लाख ५ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर एनआईबीएल क्यापिटल लिमिटेड, लाजिम्पाट, देव विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय पोखरा, विराटनगर र विरगञ्ज तथा गुडविल फाइनान्सको नेपालगञ्ज र इटहरी शाखाबाट पनि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । पुस १७ गतेसम्म कायम सेयधनीले उक्त हकप्रद भर्न पाउनेछन् । हकप्रद निष्काशन फागुन १५ गतेसम्म खुला रहनेछ ।

हकप्रद निष्काशन गर्ने निर्णयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । सो प्रयास सफल हुन नसकेपछि बैंकले हकप्रद बाटै पुँजी बढाउने निर्णय गरेको हो । हाल देवः विकास बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार दुई सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने १२ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर र बोनस सेयर दुबै वितरण गरेपछि देवः विकास बैंकको चुक्तापुँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।  

मञ्जुश्री फाइनान्सको ४३ लाख ८६ हजार कित्ता हकप्रद सेयर
मञ्जुश्री फाइनान्स लिमिटेडले आगामी माघ १० गतेदेखि १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बृद्धि गर्नका लागि १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४३ लाख ८६ हजार ३७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । फागुन ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । 

हाल मञ्जुश्रीको चुक्तापुँजी २५ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ६८ करोड ९२ लाख ८७ लाख ५ सय रुपैयाँ पुग्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।