२०८३ बैशाख १६ गते

बढुवाको विषयले राष्ट्र बैंकमा असन्तुष्टि : दर्जनौको बढुवा रोकियो

बैंकिङ खबर / केन्द्रीय बैंकमा बढुवाको विषयलाई लिएर आन्तरिक विवाद उत्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले आठ जना उपनिर्देशकलाई हालै निर्देशक पदमा बढुवा गरेको छ । राष्ट्र बैंकको ७१ औं बार्षिकोत्सवमा बढुवाकै विषयलाई लिएर कर्मचारीहरुले गभर्नर विरुद्ध विरोध प्रदर्शन गरेका थिए । केन्द्रीय बैंकमा जुनीयर कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाइएको भन्दै केही कर्मचारीहरु डेपुटी गभर्नर नियुक्तिमै असन्तुष्टि देखिएका छन् । पछिल्लो समय गभर्नर डा. विश्वनाथ पौडेल विरुद्ध कर्मचारीहरु आन्दलमा उत्रिदै आएका छन् । केन्द्रिय बैंकले सूचना जारी गर्दै योग्यताक्रमका आधारमा ८ जनाको बढुवा गरिएको जनाएको छ । यसबाहेक करिव ६२ जना कर्मचारी बढुवा हुनुपर्नेमा भएका छैनन् । केन्द्रीय बैंक स्रोतका अनुसार हाल माथिल्लो तहका ८ जना कर्मचारीको मात्रै बढुवा गरिएको छ । तल्लतो तहका कर्मचारीहरु करिव ५ दर्जन बढीको बढुवा गर्ने समय नाँघीसकेको छ । समस्या लिएर जाँदा गभर्नर रिसाउने र भेट्न पनि इन्कार गर्ने गरेको एक कर्मचारीले बैंकिङ खबरलाई बताए । उनले साना तहका कर्मचारीलाई केन्द्रीय बैंकमा अपहेलना गर्ने गरिएको दावी गरेका छन् । राष्ट्र बैंक कर्मचारी विनियमावली, २०६८ को विनियम ५३ अनुसार अवधि पुरा एकाहरुलाई बढुवा गर्ने पर्नेहुन्छ । समयमा बढुवा नहुँदा माथिल्लो सिनकायमा पुग्न सक्ने कर्मचारी एक दिनकै फरकका कारण पुग्न सक्दैनन् भने तलवमा पनि धेरै नै अन्तर पर्दछ । केन्द्रीय बैंकले हालै बढुवा गराएका ८ जना निर्देशकहरुमा सम्झना ढकाल – भुक्तानी प्रणाली विभाग, नविना ढकाल गैर–बैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभाग, संजीव कुमार झा विदेशी विनिमय व्यवस्थापन विभाग, सुमन नेउपाने गभर्नरको कार्यालय, पुष्पा अधिकारी बैंकिङ्ग विभाग, मोहन पुडासैनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, कमल प्रकाश कालाथोकी आन्तरिक लेखापरीक्षण विभाग, शिखा अधिकारी (रेग्मी) वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा विभाग रहेका छन् ।