बैंकिङ खबर / सरकारले अर्थतन्त्रको श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक स्थितिमा टेकेर अर्थतन्त्रको श्वेतपत्र जारी गरेका हुन् । उनले जारी गरेको श्वेतपत्रमा अर्थतन्त्रमा सबल अर्थतन्त्र बनाउनुपर्ने कुरालाई फोकस गरिएको छ । अर्थमन्त्रीमा नियुक्त भएको एक महिनापछि सोमबार उनले नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ सार्वजवनिक गरे । मुलत नेपाली अर्थतन्त्रले उत्पादन र पुँजी निर्माणको सामना गरीरहेको उल्लेख छ । एक दशकमा मुलुकको आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्रै हुनु तथा उत्पादनमूलक उद्योगको योगदान कम्जोर हुनुले अर्थतन्त्र उपभोगमुखी दिशामा ढल्किएको श्वेतपत्रमा उल्लेख छ ।
नेपालको अर्थतन्त्र अनेक चुनौतीबाट घेरिएको भएपनि बहुआयामिक अवसरहरू प्रशस्त रहेको, स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनःस्थापित हुने तथा लगानी बढ्ने स्वेतपत्रमा उल्लेख छ। यसबाट उत्पादनमूलक क्षेत्र विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।
श्वेतपत्रमा आगामी वर्ष आर्थिक वृद्धिदर घटेर ३.५ प्रतिशतमा खुम्चने पनि प्रक्षेपण गरिएको छ । श्वेतपत्र अनुसार आन्तरिक उत्पादन कमजोर हुँदा र राजस्वले चालू खर्च समेत धान्न धौधौ परिरहेको अवस्थामा सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत पुग्नुले आगामी पुस्तामा ऋणको भारी थपीदै गएको जनाइएको छ । नेपालको विद्युत् उत्पादन ४ हजार १०५ मेगावाट पुग्नु र ९९ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुग्नुलाई श्वेतपत्रले सकारात्मक लिएको छ । प्रसारण लाइनको ढिलाइ र हिउँदमा हुने आयातको चुनौती भने आगामी सरकारले सामना गर्दै जानुपर्ने कुरा उठाउँदै अर्थमन्त्री डा वाग्लेले अर्थतन्त्रलाई सुधार गर्दै आगामी सात वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने बताएका छन् । यस योजनाअनुसार आगामी सात वर्षभित्र अर्थतन्त्रको आकार हालको करिब ४५ अर्ब डलरबाट बढाएर १०० अर्ब अमेरिकी डलर पुऱ्याउने र प्रतिव्यक्ति आय ३ हजार डलर नाघाउने लक्ष्य उनले राखेका छन् ।



