२०८३ बैशाख ७ गते

९ महिनामा ३२ अर्बको चामल भित्रियो, १८ सालमा ३ लाख टन निर्यात हुन्थ्यो

बैंकिङ खबर / चालु आर्थिक वर्षको ९ महिनामा नेपालले ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको चामल आयात गरेको छ । यो रिपोर्ट गत साउन देखि चैत मसान्त सम्मको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने यो अवधिमा ६ लाख ३८ हजार ७ सय ८७ टन धान, चामल, कनिका र बिउ आयात देखिन्छ ।

गत आवको सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० हजार ४६ टन धानचामल आयात भएको थियो । परिमाणमा धानचामलको आयात कमी देखिए पनि मूल्यका हिसावले धेरै रकम विदेशीएको छ । गत आव ९ महिनामा जम्मा ११ करोड ३८ लाख बराबरको धानको बिउ आयात भएको थियो भने चालु आवमा झन्डै तीन गुणाले बढेर ३८ करोड रुपैयाँको विउ आएको छ । तर उत्पादनका हिसावले भने त्यस्तो देखिएको छैन । चालु आवको ९ महिनामा धानचामल आयात बापत सरकारले २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको रिपोर्टमा उल्लेख छ ।

त्यो गर्भिलो इतिहास

करिव ४० बर्ष अगाडि नेपालबाट विभिन्न देशमा धान चामलको निर्यात हुने गरेको तथ्याङकले देखाउँछ । जुन समयमा धान उत्पादनमा नेपाल निकै अब्बल मानिन्थ्यो । दक्षिण एसियाली देशमा मात्रै होइन दक्षिण कोरिया, मलेसियादेखि अमेरिकासम्म नेपाली चामल निर्यात हुने गरेको अभिलेख छ । २०४६ साल पछिको उदार अर्थनीतिपछि विदेशबाट प्रत्येक वर्ष धान चामल आयात बढ्दै गएको हो । विस २०१८ सालमा धान उत्पादन र व्यापारको गर्विलो इतिहास पाइन्छ । त्यसबेला सबैभन्दा धेरै धान निर्यात भएको पाइन्छ । २०१८ मा २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात भएको इतिहासले देखाउँछ । पछिल्लो समय २०४२ सालमा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०४७ सालयता त्यो विरासत इतिहासमा मात्र सीमित रहेको छ ।

नेपालमा वार्षिक चामल खपत लगभग ४८ लाख टन छ, जसमा ३० लाख टन भातका लागि चाहिन्छ। अन्य उत्पादन चिउरा, चामलको पीठोबाट बन्ने परिकारका लागि पनि चामल आवश्यक पर्छ। नेपालमा प्रति व्यक्ति प्रति वर्ष लगभग १३७ किलो चामल खपत हुन्छ, जुन औसतभन्दा १६ किलो बढी हो