बैंकिङ खबर / अमेरिकाले आफ्ना बन्दरगाहमाथिको सैनिक नाकाबन्दी नहटाएसम्म होर्मुज नाका नखुल्ने भनेपछि उक्त जलमार्ग फेरि अन्यौलतामा परेको छ । इरानले अमेरिकी सेना फिर्ता गर्न माग गरेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयमा अझै गहिरो मतभेद रहेको बताए। इरानले नाका पूर्ण रुपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ। केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेको छ । यसले विश्व ऊर्जा बजारमा संकट ल्याउने देखिएको छ । मोहम्मद बाघेर गालिबफले अन्तिम शान्ति सम्झौता तत्काल सम्भव नभएको बताएका छन् । वार्ता अझै निर्णायक चरणमा पुगेको छैन। इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्ष बाँकी रहेको उनको भनाइ थियो। यसअघि दुई साताका लागि गरिएको युद्धविराम फेरि अबरुद्ध हुने देखिन्छ । यसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ। शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो।
युद्ध चर्किंदै जाँदा त्यसले विश्वबजारमा असर पारेको छ। युद्धका कारणले अन्तर्राष्ट्रिय व्यापार, ढुवानी, उत्पादन तथा उपभोग्य वस्तुमा मूल्य दबाब उत्पन्न भएको छ। युद्धको प्रभावले पर्सियन गल्फ क्षेत्रको तेल आपूर्ति अस्थिर बनेको छ। स्ट्रेट अफ होर्मुज मार्गमा सुरक्षा जोखिम बढेसँगै महंगीको मारमा विश्व बजार पुगेको छ । तेल र ग्यासको मूल्य बढेसँगै उद्योग, यातायात र उत्पादन लागतमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा ऊर्जा स्रोतको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तु, ढुवानी र उत्पादन क्षेत्रमा थप दबाब पर्न थालेको छ। तेल ढुवानीमा जोखिम बढेसँगै खाद्यान्न, तरकारी, दूध र निर्माण सामग्रीजस्ता दैनिक आवश्यक वस्तुमा मूल्य बढ्ने सम्भावना देखिएको छ।
मध्यपूर्वका देशहरू विश्वका महत्वपूर्ण व्यापारिक साझेदार हुन्। युद्धका कारण निर्यात आयात प्रक्रिया प्रभावित भएको छ। उद्योग र उत्पादन क्षेत्रमा लागत बढ्दा वस्तु मूल्यमा प्रत्यक्ष असर पर्छ। मध्यपूर्वमा कार्यरत लाखौं विदेशी कामदारको रोजगारी जोखिममा परेको छ। यदि युद्ध लामो समयसम्म जारी रह्यो भने रेमिट्यान्समा गिरावट आउन सक्नेछ, यसको प्रभावले संसारभरका देशहरूको अर्थतन्त्रमा असर पर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले जलमार्ग बन्द गरेर अमेरिकालाई ‘ब्ल्याकमेल’ गरेको बताएका छन् । सिपिङ स्रोतका अनुसार, सो जलमार्ग पार गर्ने प्रयास गर्दा कम्तीमा दुईवटा जहाजमाथि गोली प्रहार भएको छ। अमेरीकाको कारण देखाउँदै इरानले शनिबार हर्मुज जलडमरूमा आफ्नो नियन्त्रण पुनः कडा बनाएको घोषणा गरेको छ। इरानले नाविकहरूलाई चेतावनी दिँदै यो महत्वपूर्ण जलमार्ग फेरि बन्द गरिएको बताएपछि अबस्था अन्यौल छ ।



