बैंकिङ खबर /सरकारले निवृत्तभरण अर्थात पेन्सन व्यवस्थापन प्रणालीलाई सरल बनाएको छ । यो प्रणालीसँगै साढे तीन लाखभन्दा बढी पेन्सन कर्मचारीले पेन्सन बुझ्नका लागि बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका ईपेन्सन प्रमाणिकरण को शुभारम्भ गरेका छन् । यो प्रणालीको सुरुवातसँगै अब निवृत्तभरण पाइरहेका पूर्व कर्मचारीहरूले वार्षिक रूपमा बैंकमा भौतिक रूपमा उपस्थित हुनुपर्दैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार अब निवृत्तभरकहरूले घरैबाट पेन्सन सम्बन्धी सेवा लिन सक्नेछन् । नयाँ पेन्सनवालाहरूले पनि आफूलाई पायक पर्ने बैंकमा खाता खोलेपछि घरबाटै यो सुविधा लिने छन् । पेन्सनवालाहरुको रकम अब सिधै बैंक खातामा जम्मा हुने छ ।
यो प्रणाली लागू भएसँगै सरकारले बैंकहरूलाई तिर्दै आएको कमिसन पनि बचत हुने भएको छ । यसअघि पेन्सन वितरण र व्यवस्थापनका लागि सरकारले वार्षिक औसत १५ करोड रुपैयाँ बैंक कमिसनमा खर्च गर्दै आएको थियो । पेन्सनको गणना कार्य पनि अब अनलाईनबाटै संचालन गरीने छ । अर्थमन्त्री डा. वाग्लेले सरकारी सेवालाई थप सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले यो प्रविधि ल्याइएको बताएका छन् । उनले यस कार्यबाट सेवाग्राहीको समय र खर्च बचत हुने बताएका छन् ।



