२०८२ चैत्र १९ गते

राष्ट्र बैंकको कदम : समस्याग्रस्त कम्पनीका लागि संयोजक पद खुला

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंक ले समस्यामा परेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड को व्यवस्थापन सुधार गर्न नयाँ प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन सम्हाल्ने संयोजक पदका लागि आवेदन खुला गरेको हो।जारी सूचनाअनुसार, कम्पनी सञ्चालनका लागि दुई सदस्यीय व्यवस्थापन समूह गठन गरिनेछ, जसमा संयोजकको भूमिका प्रमुख रहनेछ। योग्य तथा इच्छुक नेपाली नागरिकले आगामी वैशाख ९ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदनका लागि सम्बन्धित व्यक्तिले आफ्नो शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र ९आवश्यक परे उमेर खुल्ने अन्य कागजात०, कार्यअनुभव तथा छनोट समितिले माग गरेका थप विवरणहरू पेश गर्नुपर्नेछ। योग्यता अन्तर्गत व्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्याङ्क, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव अनिवार्य गरिएको छ। आवेदन दिने उम्मेदवारको उमेर वैशाख ९ गतेसम्ममा कम्तीमा ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

नियुक्त संयोजकले मासिक १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् भने दशैं खर्च स्वरूप एक महिनाको तलब बराबरको रकम पनि प्रदान गरिने व्यवस्था रहेको छ। यस कदमलाई समस्याग्रस्त वित्तीय संस्थाको सुधार र पुनर्संरचना प्रक्रियालाई प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।