
बैंकिङ खबर / काठमाडौंको हिल्टन होटलमा जेन-जी आन्दोलनको क्रममा भएको आगलागीपछि उठेको बीमा दाबीमा पुनर्बीमा कम्पनीहरूबीच जिम्मेवारी सार्ने प्रयास भएको भन्दै नेपाल बीमा प्राधिकरणले छानबिन गरेको छ।
प्राधिकरणले ओरियन्टल इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र सम्बन्धित ब्रोकर कम्पनीसँग स्पष्टीकरण मागेको थियो। प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल अधिकारीका अनुसार सबै पक्षबाट जवाफ प्राप्त भइसकेको छ र अब कारबाहीको प्रक्रिया अघि बढाइएको छ। तर कस्तो कारबाही हुने भन्ने निर्णय भने भएको छैन।
अनुसन्धानमा दायित्व नेपाल रिइन्स्योरेन्समा सार्ने प्रयास भएको आशंका देखिएको छ। होटलको पुनर्बीमा शुल्क हिमालयन रिइन्स्योरेन्सलाई तिर्दै आएको भए पनि दाबी भने नेपाल रिइन्स्योरेन्समा परेको खुलेको छ।
आगलागीबाट होटलमा करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। होटलमा करिब ८ अर्बभन्दा बढी लगानी थियो भने करिब ५ अर्ब रुपैयाँ बीमा गरिएको थियो।



