बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बजारमा जाली नोटको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रु. १,००० र रु. ५०० दरका नोट प्रयोग गर्दा अनिवार्य रूपमा सुरक्षा विशेषता जाँच गर्न बैंकले अनुरोध गरेको छ।
राष्ट्र बैंकका अनुसार जाली नोट छाप्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानुनविपरीत अपराध हो। यस्ता गतिविधिले आर्थिक प्रणालीमै नकारात्मक असर पार्ने भएकाले नागरिक स्वयं सचेत हुन आवश्यक रहेको बैंकको भनाइ छ।
कसरी चिन्ने असली नोट ?
- उज्यालोमा हेर्दा नोटमा रहेको पानीछाप (वाटरमार्क) प्रस्ट देखिन्छ।
- नोटभित्रको सुरक्षा धागो (Security Thread) रंग परिवर्तन हुने खालको हुन्छ।
- छोएर हेर्दा केही भाग उठेको (इन्टालियो प्रिन्ट) महसुस हुन्छ।
- UV लाइटमा हेर्दा नोटका नम्बर र विशेष चिन्हहरू चम्किन्छन्।
- नोटको डिजाइन, रंग र अक्षरहरू स्पष्ट र मिलेको हुनुपर्छ।
राष्ट्र बैंकले शंकास्पद नोट फेला परेमा तत्काल नजिकको बैंक शाखा वा प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। बैंकले “सजग नागरिक बनौं, सुरक्षित कारोबार गरौं” भन्ने सन्देशसहित वित्तीय चेतना अभियानलाई तीव्रता दिएको जनाएको छ। सचेतना र सावधानी अपनाएमा जाली नोटबाट हुने आर्थिक नोक्सानी रोक्न सकिने राष्ट्र बैंकको विश्वास छ।




