२०८२ माघ १० गते

‘गलत तरिकाले आर्जन गरिएको धनलाई नियन्त्रित गर्न नगदको सिमा घटाइएको हो’

बैंकिङ खबर / अर्थमन्त्री रामेश्वर खनालले औपचारिक कारोबार बढाउन र अनधिकृत कारोबार रोक्नका लागि नगद कारोबारमा कडाई गरिएको बताएका छन् । उनले गलत तरिकाले आर्जन गरिएको धनलाई नियन्त्रित गर्नुपर्ने पनि बताए । उनले कालो धनलाई सेतो बनाउने माध्यमलाई रोक्न तथा अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगद कारोबारको सीमा घटाइएको बताए । धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित, क्षमतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थमन्त्रालयले छलफल गरिरहेको उनको भनाई छ । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री खनालले बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको भएपनि अझै सावधानी अपनाउनुपर्ने बताए । कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको उनको भनाई छ । उनले सन्सार डिजिटलाइजेशनतर्फ अघि बढेको उल्लेख गर्दै फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता औल्याए ।