Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
ट्रेन्डिङ

सुनको मूल्यमा निरन्तर बृद्धि : सुनमा लगानी गर्नेहरु मालामाल !

admin २०८२ माघ ७ गते
सेयर:

बैंकिङ खबर/ नेपाली बजारमा सुनको मूल्य निरन्तर बढीरहेको छ । सुन र चाँदीमा लगानी गर्नेहरु मालामाल हुन थालेका छन् । बुधबार दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा एकैपटक १० हजार ४ सय रुपैयाँले वृद्धि भएर २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको छ।

वि स २०७० मा सुनको मूल्य लगभग ६०,००० रुपैयाँ प्रति तोला थियो। यो मूल्य त्यस समयमा स्थिर रूपमा बढ्दै गयो, तर २०७५ पछि सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखियो, जसले गर्दा २०७६ सालमा सुनको मूल्य ९०,००० रुपैयाँ पार गर्यो र २०८२ मा आइपुग्दा २ लाख ४० हजार माथि पुग्यो । पछिल्लो समय सुनको मूल्यमा भएको यो अस्वभाविक बृद्धि हो । जसका कारण आगामी दिनमा सुनको मूल्य बढ्ने र घट्ने दुवै किसिमका अनुमानहरु गर्न थालीएका छन् । यस वर्ष सुनको मूल्य हेर्ने हो भने यो बर्षलाई ऐतिहासिक दृष्टिले ‘सुनौलो वर्ष’ भन्न सकिन्छ । यसअघि सुन जति चम्किने गथ्र्यो, त्यो भन्दा यस वर्ष अझ बढी सुन चम्किरहेको छ ।

सुनको मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्धित छ । सुन प्रायः अमेरिकी डलरमा मूल्यांकन हुन्छ । अमेरिकी अर्थतन्त्रमा अस्थिरता बढ्दा डलर कमजोर हुन्छ, जसको प्रभावले सुनको मूल्य बढ्छ । अन्य मुलुकको आर्थिक अवस्था सुनको मूल्यमा त्यति प्रभावकारी हुँदैन । अहिले अमेरिकाको आर्थिक अस्थिरता र उच्च मुद्रास्फीतिले लगानीकर्तालाई सुनमा आकर्षित गरेको छ ।

सुनको मूल्य वृद्धिलाई केवल अमेरिकी आर्थिक कारणमा मात्र सीमित गर्न सकिँदैन । विश्वव्यापी मुद्रास्फीति, प्रमुख राष्ट्रहरूको वित्तीय नीति, र आर्थिक अनिश्चितता पनि सुनको मूल्य वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । लगानीकर्ताले कठिन आर्थिक अवस्थामा सुरक्षित सम्पत्ति खोज्नुनै मुख्य कारण हो, र सुन यसको लागि सर्वोत्तम विकल्प बनिरहेको छ ।

सुनको मूल्य र इतिहास

सुनको मूल्यमा ऐतिहासिक दृष्टिले धेरै उतार–चढाव आएका छन् । १९७० र १९८० को दशकमा ऊर्जा संकट र उच्च मुद्रास्फीतिको समयमा सुनको मूल्य तीव्र रूपमा बढेको थियो । लगानीकर्ताहरू मुद्रास्फीतिबाट बच्न सुनमा आकर्षित भए। त्यस्तै, १९७९ मा अमेरिकी अर्थतन्त्रले दोहोरो अंकको मुद्रास्फीतिसँग संघर्ष गरिरहेको अवस्थामा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको थियो ।

त्यसपछि २००१ मा सेप्टेम्बर ११ को आतंकवादी हमला, २००८ को वैश्विक वित्तीय मन्दी र २०२०–२१ को महामारीको समयमा पनि सुनको मूल्यमा वृद्धि भएको थियो । यी सबै अवस्थाहरूमा सुनले लगानीकर्तालाई सुरक्षित विकल्प दिएको थियो । तर सन् २०२५ मा सुनको मूल्य वृद्धिले ती अघिका सबै घटनालाई पछि पार्दै तीव्र गति कायम राखेको छ ।

नेपालमा सुनको मूल्य

नेपालमा सुनको मूल्यको इतिहास लामो र विविध छ, जसले देशको आर्थिक परिप्रेक्ष्य र अन्तर्राष्ट्रिय बजारका उतारचढावलाई प्रतिविम्बित गर्दछ। नेपालमा सुनको मूल्यको ऐतिहासिक रेकर्डहरूको अभाव भए तापनि, २००० को दशकको अन्त्यतिर सुनको मूल्य प्रति तोला १५ हजारदेखि २० हजार रुपैयाँको बीचमा थियो। यस अवधिमा सुनको मूल्य स्थिर र मध्यम स्तरमा रहेको थियो । त्यसको एक दशकमा अर्थात सन २०१० तिर सुनको मूल्यमा अलि धेरै बृद्धि भएर गयो सन २०१० मा नेपालमा सुनको मूल्य लगभग ३०,००० रुपैयाँमा प्रततोला कायम थियो । यो मूल्य त्यस समयमा स्थिर रूपमा बढ्दै गयो, तर २०१५ मा सुनको मूल्य प्रति तोला ५० हजार रुपैयाँ नाघेको थियो । त्यस यता सुनको मूल्य फेरि स्थिर थियो करिव २०२० तिर सुनको मूल्य एकलाख भन्दा कम थियो । यो ५ बर्षको अन्तरालमा सुनको मूल्य अत्याधिक बढेको पाइन्छ ।

सुन आयात उल्लेखनीय

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालमा सुन आयात उल्लेखनीय दरले बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म ६ सय १ किलो काँचो सुन र करिब ५ किलो सुनका गरगहना आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा मात्र १ सय १३.५ किलो सुन आयात भएको थियो। विभागले सुन आयात बढ्नुको मुख्य कारण सुनको मूल्य वृद्धिसँगै लगानीकर्ताको आकर्षण बढ्नु भएको उल्लेख गरेको छ। पछिल्लो समय बजारमा सुनको माग तीव्र रूपमा बढेको र आपूर्ति कम भएको कारण अभाव सिर्जना भएको थियो। सरकारले यसै कारण सुन आयात कोटा दैनिक २० किलोबाट २५ किलो पुर्‍याएको थियो। सुन आयातमा वृद्धिले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याएको र लगानीकर्ताहरूको सुनतर्फको रुचि बढाएको विभागको विश्लेषण छ। चालु त्रैमासमा काँचो सुनको आयातबाट करिब १० अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ, जसबाट सरकारले १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै, सुनका गरगहना आयातबाट ७ करोड १५ लाख रुपैयाँ बराबरको मूल्यमा ३४ लाख रुपैयाँ राजस्व आम्दानी भएको छ।

भविष्य : डिजिटल गोल्डको 

सुनलाई विश्व बजारमा ‘सेफ हेभन असेट’ अर्थात् संकटका बेला सुरक्षित लगानीको माध्यमका रूपमा चिनिन्छ । जब विश्व बजारमा अस्थिरता बढ्छ, लगानीकर्ताहरू सुनमा आकर्षित हुने गर्छन् । हाल अमेरिकी डलर कमजोर हुँदा, मध्यपूर्वको तनाव र विश्व आर्थिक अनिश्चितताले सुनको मूल्य लगातार उकालो लागेको देखिन्छ । नेपालमा सुनको मूल्य सिधैँ अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित हुँदा बैंकहरू यस प्रवृत्तिलाई आफ्ना लगानी नीतिमा प्रयोग गर्न थालेका छन्। बैंकहरूले सुन धितो कर्जा छोटो अवधिको तरल लगानीका रूपमा हेर्छन् । कर्जा रकम छोटो अवधिमा फिर्ता हुने, धितो सजिलै नीलाम गर्न सकिने, र बजार मूल्य स्थिर हुने भएकाले यो लगानी कम जोखिमयुक्त मानिन्छ। सुन धितो कर्जा बैंकका लागि लो–रिस्क र हाइ–लिक्विड प्रोडक्ट हो। बजारमा लगानी सुस्त हुँदा पनि यसबाट स्थिर आम्दानी सुनिश्चित गर्न सकिन्छ ।

बैंकहरूले पछिल्ला वर्षहरूमा सुन धितो कर्जा प्रक्रियामा प्राविधिक सुधार पनि गरेका छन्। अहिले धेरै बैंकहरूले सुन कर्जाका लागि ‘गोल्ड लोन क्यालकुलेटर’ जस्ता डिजिटल सुविधा सञ्चालनमा ल्याएका छन् । ग्राहकले सुन लिएर आउँदा तत्काल मूल्यांकन गरी रकम खातामा पठाइन्छ । सुन धितो कर्जा व्यक्तिगत तथा साना व्यवसायिक प्रयोजनका लागि विशेष रूपमा लोकप्रिय भएको छ । उपभोक्ताहरूले घर मर्मत, व्यापार विस्तार, वा वैदेशिक रोजगार तयारीका लागि छोटो अवधिको कर्जा सजिलै पाउने गरेका छन् । सुनको मूल्य बढ्नुले बैंकहरूका लागि लगानी सुरक्षित बनाएको भए पनि यसले केही चुनौती पनि ल्याएको छ। मूल्य अत्यधिक बढ्दा बजारमा सुनको खरिद घट्ने र नयाँ धितोका स्रोत सीमित हुने सम्भावना रहन्छ। यद्यपि, बैंकका विज्ञहरूको मूल्याङ्कनमा दीर्घकालीन रूपमा सुनको माग र मूल्य दुबै उच्च रहने विश्वास छ। सुन धितो कर्जा तरलता व्यवस्थापनको उत्कृष्ट उपकरण हो। अहिले बैंकहरूले यही क्षेत्रमा विस्तार गरे भने जोखिम घट्ने र लगानीको गुणस्तर बढ्ने सम्भावना धेरै छ । सुन बजारमा निरन्तरको मूल्यवृद्धिले नेपाली अर्थतन्त्रमा पनि दोहोरो प्रभाव पारेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।