२०८२ मंसिर १ गते

सुदुर पश्चिममा बैंकिङ : निक्षेप १६.३० प्रतिशतले बृद्धि, औघोगिक कर्जा पनि बढ्यो

बैंकिङ खबर / सुदुर पश्चिममा बैंकवित्तमा निक्षेपमा बृद्धि हुनुका सार्थ उद्योग क्षेत्रमा कर्जा पनि बृद्धि भएको छ । कृषिमा भने कर्जा केही घटेको छ । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा उक्त क्षेत्रको करिब ३४.७२ प्रतिशत योगदान दिने अनुमान गरिएको यस क्षेत्रले उल्लेखनीय रोजगारी सिर्जना गर्ने गरेको छ ।

२०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले ह्रास भई रु. १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १.३१ प्रतिशतले ह्रास भएको थियो । समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १९.०३ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.०६ प्रतिशत चिया÷कफी शीर्षकमा प्रवाह भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.१४ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६८.६२ प्रतिशत, कञ्चनपुरको १९.१३ प्रतिशत, डडेल्धुरा, दार्चुला, बझाङ, बैतडी, डोटी, अछाम तथा बाजुराको अंश क्रमशः ३.३८ प्रतिशत, १.७५ प्रतिशत, १.७४ प्रतिशत, १.५६ प्रतिशत, १.५२ प्रतिशत, १.३२ प्रतिशत र ०.९९ प्रतिशत रहेको छ ।

औधोगिक कर्जा

२०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ४.३७ प्रतिशतले वृद्धि भई रु.२६ अर्ब ७२ करोड ३ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.७९ प्रतिशतले कमी आएको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६.९७ प्रतिशत रहेको छ । समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६७.५५ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ३७.८३ प्रतिशतले ह्रास आएको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४२.७१ प्रतिशत, गैर खाद्यवस्तु सम्बन्धी उद्योगमा २६.०५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.२१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८.९२ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १.६३ प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.४८ प्रतिशत अंश रहेको छ  ।

निक्षेप १६.३० प्रतिशतले बृद्धि
२०८२ असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८१ असारमसान्तको तुलनामा १६.३० प्रतिशतले बढ्न गई रु. १ खर्ब ७३ अर्ब ८३ करोड ९ हजार पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ११.३२ प्रतिशतले वृद्धि भएको थियो । २०८२ असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८१ असारमसान्तको तुलनामा २.९८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ५७ अर्ब ४० करोड ४ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४८.१३ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात्२.५५ प्रतिशत रहेको छ । त्यसैगरी, समीक्षा वर्षसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७५ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात्०.९६ प्रतिशत प्रतिशत रहेको छ ।