२०८२ कार्तिक १० गते

शान्ति, सुव्यवस्था रहेन भने बैंकिङ सेक्टरले काम गर्न सक्दैनः पूर्वगभर्नर क्षेत्री(भिडियो)

दिपेन्द्र बहादुर क्षेत्री
पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

बैंकिङ क्षेत्र निर्धक्क भएर काम गर्न पहिले सुरक्षाको व्यवस्था सुनिश्चित हुनु आवश्यक छ । हालै एउटा उदाहरण हेर्दा एउटा वाणिज्य बैंकको कुनै शाखामा ५ करोड रुपैयाँ र १८ किलो सुन लुटिएको घटना भएको छ । त्यस मध्येमा दुई–तीन दिन पछि ५ लाख रुपैयाँ फिर्ता आएको थियो ।

यस विषयमा भिडियो रेकर्डिङको माध्यमबाट पुष्टि भएको थियो । तर १८ किलो सुन र बाँकी ५ करोडको अवस्था अझै पूर्ण रूपमा स्पष्ट छैन । यद्यपि, इन्स्योरेन्स गरिसकेको हुनाले बैंकिङ सेक्टरले यसलाई नोक्सानीको रूपमा हेर्नु पर्दैन । तर दूरदराजका बैंकहरूमा पनि यस्तो समस्या भोग्न सक्ने अवस्था हुन्छ । मुलुकमा शान्ति र सुव्यवस्था रहेन भने बैंकिङ सेक्टरले काम गर्न सक्दैन ।

दोस्रो नीतिगत सुनिश्चितता हो । नीति आज एउटा हुन्छ, भोलि पूर्ण रूपमा फरक आउँछ भने लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्दैन । नीति निर्माण गर्ने नेतृत्वकर्ता पनि विगतका प्राक्टिस र आफ्नै विचारमा आधारित भएर निर्णय गर्छन्, तर त्यसले बजारमा अनिश्चितता सिर्जना गर्छ । उदाहरणका लागि, पुँजी बजारमा सेकेन्डरी मार्केटको साइकिलले जोखिमहरू निम्त्याउँछ ।

हालको परिस्थितिमा बजारमा माग भइराखेको छ । बैंकिङ सेक्टरमा जोखिम कम भएको र तरलता सहज रहेको कारणले नयाँ नीति लागू गरिएको छ । तर यसको प्रभाव दीर्घकालीन रूपमा स्थिर रहनुपर्छ । यसले रोजगार र आर्थिक गतिविधिहरूमा योगदान पुर्‍याउँछ ।

इन्स्योरेन्स कम्पनी, फाइनान्स कम्पनी, लघुवित्त आदिमा लगानी बढी भइसकेको छ । तर यसले अर्थतन्त्रमा प्रत्यक्ष योगदान कति भयो भन्ने कुरा अझै विचारणीय छ ।

कोभिड–१९ पछि ल्याइएका नीतिहरूले केही लाभ दिएका छन्, तर सिमित वर्गले मात्र लाभ पाएको अनुभव छ । ब्याजदर कम रहँदा पनि लगानी अपेक्षित रूपमा बढेन । निजी क्षेत्रका ठूला लगानीकर्ताहरूले विगतमा लिएको ऋणको प्रभावका कारण नयाँ लगानी गर्न सकिरहेका छैनन् । साना व्यवसायहरू पनि पूर्ण रूपमा चलाउन सकिरहेका छैनन् ।
सहकारी संस्थामा बेइमानीले सर्वसाधारणको विश्वास कमजोर पारेको छ । यसले साना व्यवसायमा ऋण प्रवाहमा अवरोध ल्याउँछ ।
मौद्रिक नीतिमा केही लचकता देखिएको छ । तीन–तीन महिनामा नीति समीक्षा गरेर आवश्यक निर्देशनहरू दिइएको छ । बैंकिङ सेक्टरमा राम्रो नियमन र सेल्फ–रेगुलेटेड प्रणाली भएपनि अन्तर्राष्ट्रिय स्तरमा लेखा परीक्षणमा चुनौती छ ।
उदाहरणका लागि, हालै मात्र १० वटा ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय स्तरको लेखा परीक्षण प्रक्रिया सुरु भएको छ ।

नयाँ अवधारणाहरू पनि बैंकिङ क्षेत्रमा आएका छन् । भारतीय रिजर्भ बैंकले १० करोड रुपैयाँसम्म नेपाल, भुटान र श्रीलंका नागरिकलाई कर्जा दिन सक्ने नीति अपनाएको छ । यसले ठूला व्यवसायीहरूलाई फाइदा पु¥याउन सक्छ । तर यसको जोखिम व्यवस्थापन, धितो सुरक्षा र दीर्घकालीन प्रभाव अध्ययन गर्न आवश्यक छ ।

नेपालको अर्थतन्त्रमा बैंकिङ क्षेत्रले अग्रगमन गरेको छ । तर स्रोत र साधनलाई पूर्ण उत्पादनशील क्षेत्रमा लगानी नगरेको कारण आयातित वस्तुमा निर्भर अर्थतन्त्र बन्न सक्ने जोखिम छ । यसले दिगो विकासमा योगदान कम गर्दछ । कृषि क्षेत्र, उत्पादन र स्थानीय व्यवसायमा लगानी कम हुनु, बैंकिङ प्रणालीको वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न कठिन बनाउँछ ।

बैंकिङ क्षेत्रले मात्र नभई नीति निर्माण, उत्पादन संरचना, साना व्यवसाय र सहकारी संस्थालाई पनि सशक्त बनाउन आवश्यक छ । यो केवल मौद्रिक नीति वा वित्तीय उपायले मात्र सम्भव छैन ।

आर्थिक संरचना, स्थानीय उद्योग, साना व्यवसाय, नीति स्थिरता र सुरक्षा सुनिश्चितता यी सबै पक्षलाई समेटेर मात्र बैंकिङ क्षेत्रले दीर्घकालीन विकासमा योगदान पुर्‍याउन सक्छ । नेपालको बैंकिङ क्षेत्रले अर्थतन्त्रमा प्रत्यक्ष र स्थिर योगदान पु¥याउन यो सबै पक्षलाई समाहित गर्न आवश्यक छ ।

केवल मौद्रिक नीति वा सिमित उपायले दीर्घकालीन विकास सुनिश्चित गर्न सक्दैन । बैंकिङ क्षेत्रको सशक्तिकरण, नीति स्थिरता, सुरक्षा र उत्पादनशील लगानीसँगै मात्रै नेपालले दिगो, समावेशी, र सुदृढ आर्थिक संरचना निर्माण गर्न सक्नेछ ।

हेर्नुहोस् भिडियो